एमसीसी फिर्ता लिन विप्लवको भदौ २८ को अल्टिमेटम

एमसीसी फिर्ता लिन विप्लवको भदौ २८ को अल्टिमेटम

एमसीसीविरुद्ध आक्रामक प्रदर्शन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी सोमबार विशाल जनप्रदर्शन गर्ने जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै नेकपाले एमसीसी सम्झौता खारेजीका लागि दबाब बढाउने उद्देश्यले बृहत प्रदर्शन गर्न लागिएको जानकारी दिएको हो ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भदौ २८ गते कम्तिमा १५ हजार मानिस भेला गराएर एमसीसी फिर्ता लिन सरकारलाई दबाब दिन लागेको जानकारी दिनुभयो ।

’२८ गतेको कार्यक्रम सफल पारौं । कम्तिमा १५ हजार भेला गराऔं । एमसीसीविरुद्ध आन्दोलनरत सबै राष्ट्रवादी शक्तिलाई गोलबन्द गरेर दबाब सिर्जना गरौँ’, प्रकाण्डले भन्नुभयो । भदौ २८ गतेभित्र एमसीसी सम्झौता खारेज गर्न अल्टिमेटम दिँदै उहाँले अन्यथा थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभएको छ ।

एमसीसीको ५० करोड डलरसँग राष्ट्रियता बेच्न खोजिएको भन्दै नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यस्तो गल्ति नगर्न आग्रह गरेको छ । ‘अहिले शेरबहादुर देउवाको सरकार बनेको छ । यो सरकार जम्मा १४ महिनाका लागि हो । त्यसैले हामी अनुरोध गर्छौँ कि एमसीसी पास गर्ने मूर्खता यो सरकारले नगरोस्,’ उहाँले भन्नुभयो ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले एमसीसी सदनमा टेबल गर्न खोज्दा जनताको दबाबपछि ब्याक हुनुपरेको भन्दै प्रकाण्डले त्यसबाट पाठ सिक्न पनि आग्रह गर्नुभयो । अहिले मुलुकको राष्ट्रियता अप्ठेरो अवस्थामा पुगेको भन्दै उहाँले सत्ता गठबन्धनलाई जिम्मेवार बन्न अनुरोध गर्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डसँगै उक्त पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश वली, केन्द्रीय सदस्य खुमा सुवेदी, प्रेम दर्नाल, जनवर्गीय संगठन फ्याक्सन इञ्चार्ज तथा केन्द्रीय सदस्य चिरन पुन, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, महासचिव प्रकाश शाही, काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्टलगायतका नेताहरुको उपस्थिति थियो ।

टिप्पणीहरू