मुसा मारी हेरौं न महामहिम « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

मुसा मारी हेरौं न महामहिम

प्रकाशित मिति :  १५ श्रावण २०७४, आईतवार १७:०२


  • बाबुलाल भण्डारी

पाण्डवहरू बनवास बस्दा भ्राता भीमले युधिष्ठिरलाई दिएको एउटा अत्यन्त मूल्यवान सुझावलाई किरातार्जुनियममा महाकवि भारविले यसरी श्लोकबद्ध गरेका छन्,

‘सहसा विदधीत न क्रियामविवेक परमापदां पदं ।
वृणुते हि विमृश्यकारिणं गुणलुब्धाः स्वयमेव सम्पद ।।

राम्रो सोचविचार नपु¥याई हतारमा कुनै काम गर्नुहुँदैन । आवेशजन्य र विवेकहीन कामले ठुल्ठूला समस्या निम्त्याउँछ । सोच, समझपूर्ण काम गर्ने मान्छेसँग वैभव र सत्ता आफैं पछि लागेर आउँछ । यो श्लोकको बढी जरुरत अहिले हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवालाई परेको छ ।

प्रधानन्यायाधीशमाथि महाभियोग एवं आइजिपी प्रकरण र सत्तामा जाने हतारोलाई नजिकबाट नियाल्नेहरूले यही निष्कर्ष निकाल्न थालेका छन् । मुलुकसामु चुनौतीका विशाल पहाड छन् । तीनै तहको निर्वाचन समयमै सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पूर्ण कार्यान्वयनमा लैजानुपर्ने छ । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन ३० असोजमा, संघीय संसद् गठनका लागि राष्ट्रियसभाको निर्वाचन कात्तिक दोस्रो साता र प्रतिनिधिसभा निर्वाचन मंसिर पहिलो साताका लागि तोकेर प्रस्ताव गरिसकेको छ । समय कम छ, काम धेरै जटिल छन् । एकातिर निर्वाचनको तयारीले गति लिएजस्तो देखिन्छ, अर्कोतिर कानुनी र प्राविधिक तयारी सोअनुरूप अगाडि बढेको देखिन्न । खासगरी प्रदेश नम्बर २ को १२७ स्थानीय तहकै चुनावका सन्दर्भमा सरकार लड्खडाइरहेको आभाष हुँदै छ । यसैबीच, तराईकेन्द्रित दलले १ मधेस प्रदेशको नारामा फर्किने संकेत गरेका छन् भने माओवादी केन्द्रले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्ले चुन्ने प्रधानमन्त्रीका लागि शासकीय प्रणालीमा परिवर्तनको पुरानो अडान दोहो¥याउन थालेको छ ।

अर्थात् समस्या जटिलबाट जटिल बन्दै छन् । कुल मिलाएर भन्नुपर्दा समयको यस जटिल मोडमा कुनै व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्नु मात्र पर्याप्त छैन । अहिले मुलुकको नैयालाई सकुशल पार गराउन प्रधानमन्त्रीमा विशेष कूटनीतिक सीप, दूरदर्शिता, संयम, सुझबुझ, जनतालाई हाँकेर जान सक्ने नेतृत्वकला मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्दा चाहिने लचकता एवं कठोरताको अपेक्षा स्वाभाविक हुन जान्छ । के प्रधानमन्त्री यसका लागि तयार छन् ? चाहँदा नचाहँदै पनि अहिले धेरैको मनमा यही प्रश्न उठ्न थालेको छ । आखिर स्थानीय चुनाव सम्पन्न होउन्जेल धैर्य गर्न नसक्नु र हक्र्युलिजको मार असमयमै काँध थाप्ने आतुरता देउवाजीको सत्तालोलुपता थियो कि प्रचण्डको सम्भावित अलोकप्रियताबाट भाग्ने चालबाजी भन्ने कुरा अध्ययनकै विषय हो ।

नेपालको विदेशनीति भारतअनुरूपको हुने भनी सही धस्काएर आएका र पूरा १० महिना दक्षिणवर्ती बनेर बिताउँदै सत्ता छाड्ने अघिल्लो दिन मात्र भए पनि चाइनासँग ओबिओआर र अन्य मामिलालाई अगाडि बढाएर भोलिको राजनीतिलाई प्रचण्डले बचाएकै हुन् । नेपालको प्रमलाई यति मात्रै गर्नु पनि साहसकै कुरा हुने रहेछ । देउवाले के त्यति मात्रै पनि हिम्मत जुटाउलान् ? २ विशाल छिमेकी देश भारत र चीनबीच तनाव बढिरहेको छ, बीचमा अवस्थित सानो र कमजोर मुलुक नेपालको लागि यो बडो संवेदनशील घडी हो । तर हाम्रा प्रधानमन्त्रीले चीन हाम्रा लागि भारत जति निकट हुन सक्दैन भनेर बोलेको कुरा सञ्चारमाध्यममा आयो । यो ढंगको लापरबाहीमा हाँस्ने कि रुने ?

हिजो संविधान जारी गर्दा प्रमुख ३ दलले अभूतपूर्व एकता र दृढता प्रदर्शन गरेका थिए । अनेक प्रकारले नेपाललाई खेलाउन र अदपमा राख्न चाहने परचक्रीले यस एकतामाथि कांग्रेसमार्फत प्रहार ग¥यो । पूर्व सहमति तोड्दै सुशीलजीले प्रममा उम्मेदवारी मात्र दिएनन्, सिंगो मुलुक संविधान कार्यान्वयनमा संयुक्त रूपमा जुट्ने बेला कांग्रेसलाई पक्ष विपक्षको खेलमा उतारे । त्यहींबाट शुरु भएको प्रमुख दलबीचको तिक्तता र दूरीको अझै भरपाई हुन सकेको छैन र मुलुकले यसैको पीडा भोगिरहेको छ । के देउवाजीमा प्रमुख दललाई फेरि एकै ठाउँ ल्याउने सोच र आँट छ ?

संघीयतामा कर्मचारी समायोजन पेचिलो बनेको छ । यता, ध्यान दिनु छैन, प्रधानमन्त्रीजीलाई के लहड चलेछ प्रतिनिधिसभा सदस्य संख्या अचानक २४० पु¥याउन छलफल चलाइदिनुभयो । प्रादेशिक सीमांकनका लागि प्रदेश सभाको अधिकारकोे व्यवस्था गर्ने संविधानको धारा २७४ लाई सहिद बनाउने संविधान संशोधन संसद्मा विचाराधीन छ । एकसिटे सांसदलाई समेत क्याबिनेट तहको मन्त्रालय दिई संविधान संशोधन गर्न खोजिँदै छ । प्राविधिक दुईतिहाइ नपुगे सांसद खरिद बिक्री त उहाँको फेभरेट विषय हो र उहाँलाई यसमा काफी अनुभव पनि छ । तर प्रश्न फेरि पनि त्यही हो एउटा अल्पकालीन कुर्सीका लागि जे र जसो पनि गर्न हुने हो ? मर्यादा र औचित्यका केही सीमा हुन्नन् ? एमालेले सरकार निर्माणका ४ अवसर पायो । चारैपटक अलग–अलग व्यक्तिलाई पठायो । कांग्रेसले कसैलाई १७ पटकसम्म प्रधानमन्त्रीको असफल लडाइँमा दौडायो । तर, जब मौका आयो, विचरा नराम्ररी जिल्ल्याइए र पुरानै अनुहारले चौथो पटक मौका छोप्न पायो ।

के बिपीजस्ता महापुरुषले हुर्काएको पार्टीमा त्यस पदको योग्य अर्को नेता छैन ? व्यवहार र आचरण नयाँ नदिए पनि कमसेकम मान्छे त नयाँ दिनु नि ! देउवाजी नेतृत्वमा आएपछि कांग्रेसको चरित्रमा विचित्रको अन्तर देखिन्छ । आवश्यक र अपेक्षित कुरामा रहस्यमय मौनता र अनुचित कुरामा ज्यादा सक्रियता । यो शुभसंकेत होइन । चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित सौभाग्यशालीलाई बाँकी संसारले विलक्षण गुणले सुसम्पन्न मान्दो हो, सायद विन्सटन चर्चिल, जर्ज वासिङ्टन, चाचा नेहरू वा लिंकनभन्दा पनि लोकप्रिय । तर, उनको यस सत्तारोहणमा खुद उनकै मतदाता र कार्यकर्तामा उत्साह देखिन्न । सन् १९६२ मा राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गर्न बसेका जर्मन राष्ट्रपति हेनरिक लुण्केले ‘हाउ आर यु ?’ भन्नुपर्ने ठाउँमा ‘हु आर यु ?’ भनेर सोध्न पुगेका थिए ।

यस्ता तथ्यगत र सन्दर्भगत गल्ती भइरहन्छन् । यसमा अनावश्यक आलोचना गरी देउवामाथि कार्यक्षमताको अभाव देखाउनु सरासर अन्याय हो । २ पटक नेविसंघको निर्वाचित अध्यक्ष रहिसकेका किसुनजीको छत्रछायामा हुर्केकालाई अक्षम छन् भन्ने कुरा मान्न सकिन्न । ‘मियाँ की दौड मस्जिद तक’ भनेझैं उनको प्रम पद मसिनो डोरीमा अडिएको छ । का. प्रचण्डलाई कुनै झोंक चल्यो कि कुरा सिद्धियो । मन्त्रिपरिषद् विस्तार हुन नसक्नुलाई लिएर उनले लाजमर्दो स्थिति भनेका छन् । यो बडा महत्वपूर्ण र सांकेतिक कुरा हो । देउवा अब कांग्रेसको मात्र नभएर सिंगो देशको नेता भएका छन् । इतिहासले उनलाई आफ्नो छवि सुधार्न, देश र जनताको अपेक्षामा काम गर्न दुर्लभ अवसर दिएको छ । कद बढाउने यो अन्तिम अवसर पनि हुन सक्छ ।

प्रजातन्त्रमा जनप्रतिनिधि मालिक होइन, जनताका सेवक हुन् भन्ने मान्यताबाट चल्न र गुमेको विश्वास जित्न धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । अलेक्जेन्डरलाई गुरु अरस्तुको शिक्षा, दिक्षा र परामर्शले विश्वव्यापी बनायो । यसैले आफ्नो इर्दगिर्द स्वच्छ इमानदार र निश्वार्थी मान्छे राखेर सही सुझावलाई ग्रहण गर्न थाले भने स्थिति अर्कै हुन असम्भव पनि देखिन्न । यसका लागि १८० डिग्रीको फरक कोणबाट आफ्नो भूमिकालाई हेर्न सक्नुपर्छ । राजनीति स्वयंमा एउटा समाधान हो, जनता र मुलुकको पक्षमा गरिने राजनीति त त्यो भन्दा पनि ठूलो तपस्या हो ।

हर कोही यसको लागि सक्षम हुँदैन । जय त्यसको हुन्छ, जसले क्षणिक लाभलाई नहेरेर बृहत र दीर्घकालीन राष्ट्रिय हितका लागि इमानदार र दत्तचित्त भई काम गर्छ । अन्त्यमा तङ सियाओ पिङको एउटा भनाई राखिहालौं, ‘बिरालो कालो होस् वा सेतो, फरक पर्दैन तर त्यसले मुसा भने मारेकै हुनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !