बाग्मतीमा शाक्यको सरकार फेर्ने अभियान भोलिबाट शुरु

बाग्मतीमा शाक्यको सरकार फेर्ने अभियान भोलिबाट शुरु

नेकपा एमाले विभाजनको असर यतिबेला बागमती प्रदेश सरकारमा प्रष्टै देखिएको छ । एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन गर्ने माधवकुमार नेपालको निर्णयलाई प्रदेशसभाका १३ जना सांसदले साथ दिएपछि अल्पमतमा परेको अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती सरकार कुनै पनि बेला ढल्ने अवस्थामा पुगेको छ ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै बाग्मतीमा वैकल्पिक सरकार गठनको कसरत शुरु भैसकेको छ । संघमा समेत एमालेविरुध्द गठवन्धन गरेका नेपाली कांग्रेस,माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य साना दल मिलेर नयाँ सरकार गठनको तयारी थालेका हुन् ।

यता,अल्पमतमा परे पनि मुख्यमन्त्री शाक्यले राजीनामा नदिने र विश्वासको मत पनि नलिने बताउनुभएको छ । एमालेको अन्तरसंघर्षमा लामो समय माधव नेपाललाई साथ दिएर निर्णायक घडी (विभाजन)मा ओलीतिर लागेर मुख्यमन्त्री बन्नुभएकी शाक्यले विश्वासको मत नलिने बताएपछि एकीकृत समाजवादीका सांसद रुष्ट छन् । अन्तिमसम्म शाक्यले आफूतिर सनाखत गर्ने विश्वास गरेका उनीहरु अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउने तयारीमा लागेका छन् । त्यसका लागि कांग्रेस, माओवादीका सांसदहरुसँग चरणवद्ध छलफल भैरहेको समाजवादीका एक सांसदले बताए ।

“एकीकृत समाजवादीले भोलि बाग्मती प्रदेश संसदीय दलको बैठक बोलाएको छ । भोलिको बैठकपछि सरकार गठनको पहलकदमी आफूहरुले लिने गरी गठवन्धनमा प्रस्तुत हुने समाजवादीको तयारी छ ।”

शाक्य नेतृत्वको सरकार बढीमा असोजको दोश्रो हप्तासम्म जाने ती सांसदले दाबी गरे । अविश्वासको प्रस्तावसहित प्रदेशसभा बैठक आह्वानको लागि समावेदन गर्ने र असोजको पहिलो साताभित्रै शाक्यलाई हटाउने गरी गठवन्धनमा छलफल भैरहेको उनले बताएका छन् ।

यसैबीच एकीकृत समाजवादीले भोलि बाग्मती प्रदेश संसदीय दलको बैठक बोलाएको छ । भोलिको बैठकपछि सरकार गठनको पहलकदमी आफूहरुले लिने गरी गठवन्धनमा प्रस्तुत हुने समाजवादीको तयारी छ । बाग्मतीमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे हालसम्म गठवन्धनमा छलफल नभएको माओवादी केन्द्रका एक सांसदले बताए । उनका अनुसार काँग्रेस र समाजवादीमध्ये एकले सरकारको नेतृत्व पाउने सम्भावना छ । काँग्रेसले सरकारको नेतृत्व दाबी गरेपनि समाजवादीको बढी सम्भावना रहेको उनी बताउँछन् । समाजवादीले सरकारको नेतृत्व पाउँदा मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डेको चर्चा छ ।

प्रदेशसभाको अंकगणित

११० सदस्यीय बागमती प्रदेशसभामा एक सिट रिक्त छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाइँको निधनपछि रिक्त स्थानमा उपचुनाव नभएकाले हाल १०९ जना सांसद कायम छन् ।

जसमध्ये सूर्य चिन्हबाट ५६ सांसद निर्वाचित भएकोमा १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । १३ जनाले समाजवादी रोजेपछि एमाले ४३ संसदमा सीमित भएको छ । त्यस्तै,माओवादी केन्द्रका २३, काँग्रेसका २२,विवेकशील साझाका ३,मजदुर किसान पार्टीका २, राप्रपाका २ र १ जना स्वतन्त्र गरी सांसद छन् ।

सरकार जोगाउन या बनाउन कम्तीमा ५५ जना सांसद आवश्यक हुन्छ । ५६ सांसदसहित एकल बहुमतको सरकार चलाएको एमाले विभाजनपछि ४३ सांसदमा खुम्चिएकाले उसले पुन: एकल सरकार बनाउने सम्भावना अन्त्य भैसकेको छ । एमालेले गठवन्धनको सरकार बनाउने सम्भावनासमेत कम छ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीमध्ये कुनै एकको साथ नपाए एमालेले बहुमत पुर्याउने अवस्था छैन । हालको अवस्थामा एमालेसँग तीन ठूला दल मिल्ने सम्भावना नरहेकाले पनि शाक्य नेतृत्वको सरकार गिर्ने अवस्था बनेको बताइन्छ ।

विकल्पमा माओवादी (२३) कांग्रेस (२२) र एकीकृत समाजवादी (१३) मिलेर सरकार बनाउने अवस्था देखिएको छ ।

टिप्पणीहरू