बिसाइ बिसाइ एमालेले राख्दैछ बैठक

बिसाइ बिसाइ एमालेले राख्दैछ बैठक

प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले दिउँसो ३ बजे पुन: बस्न लागेको छ । आज बिहान तुल्सीलाल प्रतिष्ठान च्यासलमा बसेको बैठकमा विधान,राजनीतिक प्रतिवेदन र संगठनात्मक ढाँचासम्बन्धी छलफल भएको र थप छलफलका लागि ३ बजे पुन: बैठक बोलाइएको बताइएको छ ।

बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनमा देशभरबाट करिव ३ हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव बैठकमा पेश भएको र त्यसको टुंगो लगाउन ३ बजे पुन: स्थायी कमिटी बस्न लागेको हो ।

बिहानको बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय विभाग,निकाय,प्रदेश कमिटी,जिल्ला कमिटी,पार्टीका जनवर्गीय सङ्गठन,सङ्घीय तथा प्रदेश सांसद,स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको जनाइएको छ ।

एमालेको विगतको विधानले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू स्वतः विधानको प्रतिनिधि हुने व्यवस्था गरेको थियो । तर,नवौँ राष्ट्रिय महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्थामार्फत विधान महाधिवेशनका प्रतिनिधिहरू बैठकमा निश्चित गर्ने भट्टराईले बताउनुभएको छ ।

भट्टराईले पार्टी प्रवक्ताबारे उत्पन्न अन्योलताको पनि अन्त्य गर्नुभएको छ । आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली अहिलेसम्म पार्टी प्रवक्ता रहेको प्रष्ट पार्दै उहाँले यसबारे पार्टीले थप निर्णय गर्नसक्ने बताउनुभयो ।

एमसीसीबारे तत्कालीन नेकपाको धारणा नै अहिले एमालेको धारणा भएको भट्टराईको भनाइ छ ।

टिप्पणीहरू