मान्यज्यू, तथ्य आफैं बोल्दैन र !

गतअंक प्रकाशित ‘संसद्मा त्रिकोणात्मक प्रेमसम्बन्ध’ शीर्षक समाचारप्रति आपत्ति जनाउँदै माओवादी सांसद प्रतिक्षा तिवारी मुखियाले जनआस्थालाई खण्डन प्रेषित गरेकी छन् । आफूसँग गाडी नभएको, ड्राइभर पनि नभएको दावी गरेकी छन् । तर, समाचार छापिएको दिनभर टेकुस्थित महानगरीय प्रहरी परिसरमा त्यही गाडी र ड्राइभरको लफडा मिलाउँदै थिइन् ।

उनले संविधानसभा सचिवालयबाट दर्ता नं. ३२४÷०७१÷०७२ रहेको बा १० च ५८८७ नम्बरको स्कोरपियो जीप ३२ महिना प्रयोग गरेबापतको रकम नतिरेपछि यस्तो समस्या आइलागेको हो । सवारी चालक र सो गाडीका स्वामीत्ववाल पाल्पाली विक्रम सिलवाल हुन् । उनले मासिक ६० हजारका दरले गाडी भाडाबापत १९ लाख २० हजार रुपैयाँ लिनु थियो । उनै सवारी चालक तथा धनीले बूढानिलकण्ठ नगरपालिका– १०, बालुवाखानीस्थित आफन्तको घरमा प्रतीक्षालाई महिनावारी ६ हजार तिर्ने गरी डेरा खोजिदिएका थिए ।

प्रतिक्षाले ३२ महिनाको एक लाख ९२ हजार रुपैयाँ तिरेकी थिइनन् । यसरी २१ लाख १२ हजार रुपैयाँ नतिरी बेपत्ता भएपछि विक्रमले खोजी थाले । तर, मान्यज्यूले आफूलाई विभिन्न किसिमले धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा मागसहितको निवेदन दिइन् । बुधबारको छलफलमा प्रतिक्षा र विक्रम दुवै उपस्थित थिए । विक्रमले एसएसपी छविलाल जोशीसँग आँशु खसाल्दै भने, ‘उहाँले मलाई गोवा लिएर जानुभयो । त्यसबापत उहाँलाई संसदको विधायन समितिबाट कारवाही भयो । त्यसमा पनि दुःख मान्नुभएन । उहाँसँगकै सम्बन्धका कारण पाँच महिना पहिले श्रीमतीले मसँग सम्बन्धबिच्छेद गरिन् । उहाँले मलाई जीवनभर साथ दिन्छु भन्नुभएको थियो । तर, न साथ दिनुभयो । न मसँग भाडामा लिएको गाडी र घरको भाडा नै तिर्नुभयो ।

उहाँकै कारणले मसँग आज श्रीमती छैनन् । अहिले ८ र ११ वर्षका छोरा स्याहारेर बसेको छु ।’ तर, प्रहरीका अधिकृतहरुले विक्रमलाई ‘माथिबाट’ दबाब आएका कारण कि यहाँ थुनिन तयार हुनुपर्ने, कि माननीयज्यूले दावी गरेजति रकम तिर्ने कागज गर्नुपर्ने बताए । यस्तो दबाबमा परेर उनले लिनु त कहाँ हो कहाँ, उल्टै प्रतिक्षालाई १४ लाख रुपैयाँ दिनुपर्ने कागज गरिदिए । प्रतिक्षाले दुईपटक गरेर आठ लाखको चेक दिएकी रहिछन् । आफ्नो गाडी भाडा सम्झेर विक्रमले राखेको उक्त रकम हाउजिङमा लगानी गर्न भनी दिएको, तर विक्रमले हाउजिङमा लगानी नगरेको भन्दै प्रतिक्षाले फिर्ता मागिन् । त्यसरी माग्दा प्रहरीको वरिपरि विक्रमलाई राखेर दिएको भन्दा दोब्बरमा पनि केही बढी रकमको कागज गराएकी छन् । घरभाडाबापतको एक लाख ९२ हजार १४ लाखभित्रबाट कट्टा हुने कुरा कागजमा उल्लेख छ । जनआस्थाले सोध्दा विक्रमले भने, ‘म कानुनी उपचारका लागि साथीहरुसँग सल्लाह गर्दैछु ।’

विक्रमले आफूले लिनुपर्ने रकमको दावी गर्दै संसद सचिवालयमा पनि निवेदन दिएका छन् । तर, उक्त निवेदन दर्ता गरिएको छैन । सचिवालयका एक सहसचिवले ‘माननीयज्यू आएको बेला उहाँसँग कुरा गरेर खबर गरौँला’ भनेका कारण दर्ता नगरी उक्त पत्र सचिवालयमा छोडेको बताए ।

आफ्नो दलकी सांसदबारे यसरी विवादास्पद सन्दर्भहरु सञ्चारमाध्यममा आउन थालेपछि माओवादी केन्द्र, संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले दुबै पक्षलाई बोलाएर सोधपुछ गरिएको बताए । भने, ‘हामीलाई उहाँहरुको व्यक्तिगत मामिलासँग सरोकार भएन । त्यसमा पार्टी जोडिने सन्दर्भमा मात्रै हाम्रो चासो हो । यदि त्यस्तो भयो भने कारबाही गर्नेछौँ ।’

प्रतिक्षाले जनआस्थालाई प्रेषित गरेको खण्डनमा ‘मसँग कुनै गाडी छैन, ड्राइभर पनि छैन’ भनेकी छन् । लेखेकी छन्, ‘मसँग नभएको कुरालाई हो भनी जुन आधार लिई अश्लील समाचार छापिएको छ, त्यो चरित्रहत्या गर्ने नियतबाट प्रेरित छ ।’

टिप्पणीहरू