महिलाहरुको हुल १२ बजे अमेरिकी दूतावासतिर

महिलाहरुको हुल १२ बजे अमेरिकी दूतावासतिर

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको बिरोध गर्दै आएका दल तथा समूहले आज पनि काठमाडौं र मुलुकका विभिन्न भागमा प्रदर्शन गर्न लागेका छन् ।

आज दिउँसो १२ बजे शर्मिला वाइवालगायतका अभियन्ताहरूले अमेरिकी दूतावास अघिल्तिर एमसीसीको बिरोधमा चर्को नाराबाजी गर्ने कार्यक्रम राखेका छन् ।

महिलाहरुसँग राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालले पनि त्यही समयमा दूतावास अगाडि धर्ना,जुलुस र नाराबाजी गर्ने भएको छ । आज दिउँसोको घेराउ कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले दूतावास वरिपरिको सुरक्षा व्यवस्था बिहानैदेखि कडा बनाएको छ ।

त्यसअघि परिवर्तनका लागि हाम्रो आवाज अभियानले पनि एमसीसीको बिरोध गर्दै टुरिज्म मार्केट,सूर्यविनायक,भक्तपुरमा साढे ११ बजे प्रदर्शन गर्ने जनाएको छ ।

अमेरिकी दूतावास घेर्ने कार्यक्रमपछि हाम्रो नेपाल हामी नेपालीका ज्ञानेन्द्र शाही,१०० ग्रुपका बब्लु गुप्ता,हेमराज थापा,मुना श्रेष्ठलगायत एमसीसी खारेज अभियानले उता माइतीघर मण्डलामा दिउँसो १ बजेदेखि बिरोध प्रदर्शन गर्ने भएको छ ।

शाहीहरुको कार्यक्रम नसकिँदै एमसीसी प्रतिकार समूहले पनि माइतीघर मण्डलामा दिउँसो २ बजे बिरोध कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उता पुण्य गौतमले एमसीसी खारेजीको निम्ति अनसन र हस्ताक्षर संकलन गर्न पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो २ बजे भण्डारखाल, गौशालामा गौतमको पत्रकार सम्मेलन हुन लागेको हो ।

सामाजिक सद्भाव तथा राष्ट्रिय योजना अभियानले एमसीसीको बिरोधमा मोटरसाइकल र्याली गर्ने भएको छ । अपरान्ह साढे ४ बजे कीर्तिपुर,चम्पादेवीमा मोटरसाइकल र्याली हुन लागेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले पनि एमसीसी सम्झौताको बिरोध गर्दै आज सबै जिल्लामा सम्झौता जलाउने कार्यक्रम राखेको छ । उसले स्थान र समय भने खुलाएको छैन । फरक फरक समयमा सम्झौता जलाउने कार्यक्रम सम्पन्न हुने बताइएको छ ।

त्यसैगरी एमसीसी खारेज राष्ट्रिय अभियान,मार्क्सवाद अध्ययन समूह,स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसीको बिरोध गर्ने बताएका छन् । उनीहरुले फरक फरक स्थानमा फरक फरक ढंगले बिरोध गर्ने जानकारी दिएका छन् ।

टिप्पणीहरू