चोक कांग्रेसको, तोक कामरेडको

‘म ७०, तपाईं पनि ७० । अब दुबैले छोडौँ’, बैठकको शुरु दिन यसो भनेका उनै रामचन्द्र पौडेलले अस्ति सोमबार समापनमा भने, ‘सभापतिजीलाई प्रधानमन्त्री छाड्नुस् त कसरी भनौँ, बरु पार्टी सभापति चलाउन अरु साथीहरु तयार हुनुहुन्छ, मैँ पनि छु ।’

दोस्रो चरणको निर्वाचनसम्म पुग्दा टिकट वितरणमा मनोमानी, घात र अन्तर्घातको चोट बोकेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा रामचन्द्रले भने, ‘नेतृत्व समझदारीमा चल्नुपर्छ । रहर गरेर पार्टी चल्दैन । दुःख गरेर मात्रै चलाउन सकिन्छ । अब हामीसँग दुःख गर्ने उमेर छैन सभापतिज्यू !’ फेरि सोमबार शेरबहादुरतिर हेर्दै भने, ‘अब छाडिदिनुस् †’ उनको भनाइ थियो, ‘एक व्यक्ति एक पदको कुरा सभापतिजीले पहिलादेखि नै उठाउँदै आउनुभएको हो । अहिले उहाँ आफैँ पार्टी सभापति र प्रधानमन्त्री पनि हुनुहुन्छ । म प्रधानमन्त्री नै छाड्नुस् त कसरी भनौँ ? तर, पार्टी यसरी चल्दैन । चलाउने समय पनि छैन । त्यसैले पार्टी सभापति चलाउन अरु साथीहरु तयार हुनुहुन्छ, मैँ पनि तयार छु ।’

स्थानीय निर्वाचनका दुई चरणमा विभिन्न स्थानमा माओवादीसँग गठबन्धन गर्ने कुराको सबभन्दा जमेर विरोध गर्नेमा महामन्त्री शशांक कोइराला निस्किए । सोमबारको समापनमा भने, ‘कम्युनिष्टहरुसँग गठबन्धन गरेर जान म सहमत हुन सक्दिनँ । हामीले समयको आवश्यकता हेरेर त्यस्तो ग¥यौँ होला । तर, यो कति सैद्धान्तिक थियो ? अरु साथीहरु के भन्नुहुन्छ, जान्दिनँ । तर, यसमा म उभिन सक्दिनँ ।’ आफ्नो निर्वाचन क्षेत्र नवलपरासीका राजमार्गतिर कांग्रेसले मार खानुपछाडि कम्युनिष्टसँगको अप्राकृतिक गठबन्धन मूल कारक रहेको उनको दावी थियो । भने, ‘कांग्रेसको नाममा चोक बनेको छ । त्यहाँ कम्युनिष्टहरु मिलेर हामीलाई हराइदिए । बायोलिजिकल्ली पनि अन्तिममा कम्युनिष्ट–कम्युनिष्ट मिलिहाल्छन् । हामीलाई कठपुतली बनाएर नचाए । कांग्रेसले कम्युनिष्टको पुच्छर समातेर बैतरणी तर्नुपर्ने ? वीपीले नदेखेको सपना मात्रै हैन, वीपीका सारा सपनामाथि हामीले कुठाराघात गरेका छौँ ।’

स्मरणीय छ, गैँडाकोट नगरपालिकाको वडा नं. ५ मा एमाले उम्मेदवार नवराज कँडेल कांग्रेससँग १७ मतले विजयी भए । कांग्रेसको पकेट क्षेत्र मानिने ‘कांग्रेस चोक’ त्यही वडामा पर्छ । शशांकमात्र हैन, कांग्रेसका स्थानीय नेताहरु ओम सापकोटा, मदनभक्त अधिकारी, दोर्णवन सन्यासीहरु त्यहीँका हुन् ।

बैठकमा भरतपुर गठबन्धनको सबभन्दा जोडदार विरोध केन्द्रीय सदस्य प्रदीप पौडेलले गरे । उनले ‘कम्युनिष्टसँग मिल्ने कुराले दीर्घकालीन रुपमा कति फाइदा गर्छ ? वीपीकै समयदेखि हामी कम्युनिष्टसँग नमिल्दै आएको, अहिले मिल्नुको औचित्य के हो ?’ भनी प्रश्न उठाए । भने, ‘हाम्रो पकड भनेको गैरकम्युनिष्ट भोटमा हुन्छ । कम्युनिष्टहरुसँग मिलेर जाँदा गैरकम्युनिष्ट इमेज  पनि सकिन्छ । गैरकम्युनिष्ट कित्तामा भोट हाल्ने मतदाता यसपालि हामीबाट टाढिएका छन् । उनीहरुमाथि अन्याय भएको छ । एकातिर एउटा कम्युनिष्ट (एमाले) राप्रपासँग मिलेको, अर्को कम्युनिष्ट (माओवादी) सँग हामी मिलेको स्थितिले उनीहरु ‘च्वाइसलेस’ भए (छनौटहीन) ।’

 उनले भरतपुरमा माओवादीसँगको गठबन्धनका कारण पार्टीलाई पुगेको क्षतिको प्रसंग निकाल्दै भने, ‘रुकुम र जाजरकोटको कुनै गाउँमा हामीले प्रमुख माओवादीलाई दिएको भए कुनै हल्ला हुन्थेन, सट्याकसुटुक कुरा सकिन्थ्यो । तर, भरतपुर भनेको त देशको सबभन्दा बढी चासो भएको महानगर भयो । त्यहाँ उम्मेदवारी दिइसकेको कांग्रेसको साथीलाई फिर्ता गराउँदा देशव्यापी हल्लाको विषय बन्यो । कांग्रेस एक्लै लड्दा जित्ने ठाउँमा निर्वाचन होइन, अरु नै प्रयोजनका निम्ति त्यो ठाउँ छोड्यौँ । यो म्यासेज बाहिर जाँदा हामीलाई हानी गरेको छ । पार्टीका त्यागी, इमान्दार र बफादार साथीहरु रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् ।’

यही सन्दर्भमा महेश आचार्यले कांग्रेसले मौलिकता गुमाएको चर्चा गरे । तर, बालकृष्ण खाँणले देउवाको बचाउ गर्दै भने, ‘गठबन्धन ठीक थियो । गरेको ढिलो भएको होला । तर, गठबन्धन भएकै कारण हामीले उपमेयर जित्न लागेका छौँ । साविकको भरतपुर नगरपालिका पो हाम्रो पकड क्षेत्र हो । तर, अहिले महानगर बनाउनलाई गाभिएका साविकका गाविसहरु सबै कम्युनिष्ट पकडका हुन् । यदि एक्लै चुनाव लडेको भए भरतपुरमा हार्ने रहेछौँ ।’

देउवापक्षीय केन्द्रीय सदस्य मीन विश्वकर्मा धरान र इटहरीमा उम्मेदवारीको कुरालाई लिएर बैठकमा चर्किए । ‘तलबाट हामीले निर्णय गरेको कुरा नमान्दा र माथिबाट पेल्दा हारियो । नेतृत्वले हामीलाई हली–गोठालो बनाउने प्रयास गरेको छ । यदि यस्तै हुँदै जाने हो भने पूर्वमा कांग्रेस साफ हुनसक्छ ।’

‘देशभरि हारेको राप्रपाले झापाको पनि कृष्ण सिटौलाका दुई गाउँपालिकामा जित्ने स्थिति कसरी आयो ?’ मीन विश्वकर्माले यस्तो प्रश्न गरेपछि सिटौला आफैँ आक्रोशित भए । ‘मनलाग्दी उम्मेदवारी दिँदाको परिणाम हो यो ।’ झापाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँचमा जित्यो ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले समयमै उम्मेदवारी तय गरेको भए असन्तुष्टलाई सम्झाउन र व्यवस्थापन गर्न सकिन्थ्यो भन्दै टिकट वितरणमा न्यायपूर्ण, विधिपूर्वक निर्णय नभएको गुनासो राखे । ‘सही व्यक्तिले टिकट पाएनन् । एउटाले टिकट पाएपछि अर्को विपक्षीसँग मिलेर हिँड्ने प्रबृत्ति पार्टीभित्रै संरक्षित छ । साधन र स्रोतको समुचित रुपमा प्रयोग हुन सकेन । सबै विपक्षीको प्रहारको निशाना नेपाली कांग्रेस भयो । यतिसम्म कि केन्द्रबाट गठबन्धन गरिएको माओवादीले तल गएर अरुसँगै गठबन्धन गरेको देखियो’, गुरुले भने । बैठकमा माओवादीसँग मिल्दा पनि पोखरा, चितवनमा भएको क्षतिलाई बाँकी एक चरण र त्यसपछिका निर्वाचनमा शिक्षाको रुपमा लिनुपर्ने कुरा बढी उठ्यो ।

टिप्पणीहरू