कर्णालीमा किन फाल्छन् सित्तैमा ज्यान ? ५ वर्षमा १३ सय बढीको आत्महत्या

कर्णालीमा किन फाल्छन् सित्तैमा ज्यान ? ५ वर्षमा १३ सय बढीको आत्महत्या

कर्णाली प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । ‘कार्यमार्फत आशा सिर्जना’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै गर्दा कर्णालीमा आत्महत्या गर्नेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको हो ।

कर्णालीमा गत आर्थिक वर्ष मात्रै ३ सय ६२ जनाले आत्महत्या गरेको त्यहाँको सामाजिक विकास मन्त्रालयद्वारा उपलब्ध तथ्यांकमा उल्लेख छ । दिवसको अवसरमा पत्रकार तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै मन्त्रालयले २० प्रतिशतको दरमा आत्महत्याका घटना बढेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पाँच वर्ष कर्णालीमा एक हजार तीन सय ४८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये सबैभन्दा धेरै सुर्खेतका हुन् । लागुऔषधको प्रयोग र घरेलु हिंसालगायतका घटनाले आत्महत्यालाई बढावा दिने गरेको सरोकारवालाहरुले बताएका छन् ।

गरिबी,प्रेममा धोका,विभिन्न असफलता,आर्थिक लेनदेनमा समस्या,व्यावसायिक तनावका कारण पनि आत्महत्या हुने गरेको कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डाक्टर रोशनी खत्री बताउनुहुन्छ। उहाँले पारिवारिक कलह,मानसिक तथा दीर्घरोगका कारण आत्महत्या गर्नेको संख्या बढेको बताउनुभयो ।

यसको रोकथामको निम्ति अहिले विभिन्न ठाँउमा तालिमसमेत सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । कर्णालीमा गरिबी र बेरोजगारीलगायत समस्या अधिक रहेका कारण पनि आत्महत्या बढ्दै गएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीको अनुभव छ ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले बढ्दो आत्महत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै सबैको साथ र सहयोगबाट मात्रै यसलाई न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।

टिप्पणीहरू