हिजोको दर,आज रोष्ट्रम कब्जाको डर

हिजोको दर,आज रोष्ट्रम कब्जाको डर

अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दर खाएर फर्किएको भोलिपल्ट केही महिला माननीयले संसद भवन बानेश्वरमा दुर्गाको रुप धारण गरेका छन् ।

संघीय संसदको नवौं अधिवेशनको दोश्रो बैठक प्रारम्भ भएदेखि नै एमालेका सांसद उग्र रुपमा प्रस्तुत भएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले नाराबाजीकै बीच अस्ति गृहमन्त्री बालकृष्ण खाँणलाई राजनैतिक दलसम्बन्धी र आज अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न बोलाउँदा गंगा चौधरी सत्गौवाले सहकर्मीको ढाडमा टेकेर रोष्ट्रममा चढ्ने कोसिस गरेको भिडियो फुटेजमा देखिन्छ ।अस्ति २३ गतेको बैठकमा पनि उनले उप्रदो मच्चाएकोमा मर्यादापालकहरुले रोकेका थिए । उनीझैं पूर्व वनमन्त्री नारदमुनी राना थारु,पूर्व राज्यमन्त्री आशा बिक र कन्चनपुरका माननीय नरबहादुर धामी आज अलि उग्र देखिएका हुन् ।सचेतक शान्ता चौधरी पनि रोस्ट्रम कब्जा गर्न खोज्नेको अग्रपंक्तिमा देखिन्छन् यद्यपि रोष्ट्रममा जान खोज्ने उनको प्रयासलाई मर्यादापालकहरुले सफल हुन दिएनन् । यस्तै उफ्रिपाफ्रीका कारण सत्तापक्षको एउटा टेबल भाँचिएको छ । टेबल भाँचिएपछि पहिलो लाइनमा बसेका कांग्रेसका सांसदहरु सशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव दोस्रो लहरमा गएर बसेका थिए ।एमालेको विरोधका बाबजुद पनि अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८,राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ सहित तीन वटा अध्यादेश संसद् बैठकमा पेश गरी बहुमतले स्वीकृत गराएका छन् । आज आएको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ ।

टिप्पणीहरू