धरानमा सर्वोच्च अदालतदेखि लोकसेवासम्म, प्रहरी मुख्यालयदेखि वाणिज्य बैंकसम्मको नक्कली छाप

धरानमा सर्वोच्च अदालतदेखि लोकसेवासम्म, प्रहरी मुख्यालयदेखि वाणिज्य बैंकसम्मको नक्कली छाप

धरानमा विभिन्न सरकारी कार्यालयको नक्कली छाप र कागजातहरु फेला परेको छ । धरान उपमहानगरपालिका ५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर ४ घर भएका ५२ वर्षीय कुमार थापामगर भन्ने अमरबहादुर लामिछानेको कोठाबाट प्रहरीले धेरै वटा सरकारी कार्यालयका छाप र कागजात बरामद गरेको छ ।

उनको कोठा खोजतलास गर्ने क्रममा प्रहरीले सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा आयोग, कमलपोखरी काठमाडौं लेखेको रबरको छाप १ थान, गोप्य लेखेको रबरको छाप १ थान, जिबछ लामिछाने समेत लेखेको रबरको छाप १ थान बरामद गरेको हो ।

त्यसैगरी नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं लेखेको रबरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रबरको छाप १ थान, उपसचिव लेखेको रबरको छाप १ थान, राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय, धनकुटा लेखेको डिजिटल स्टाम्प १ थान र शाखा अधिकृत लेखेको छाप १ थानलगायत विभिन्न कागजातहरु पनि बरामद गरिएको छ ।

लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भन्दै आयोगको परीक्षाको प्रवेशपत्र समेत वितरण गरी रकम असुली गर्ने, लेनदेन प्रकृतिको कागज बनाई ठगी गर्दै आएका थिए ।

प्रहरीले लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसूरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपि अनुसन्धान काय गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

टिप्पणीहरू