कता गए कालाकोटेहरू

आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्न सरकारी कर्मचारीहरू विदेश गएजस्तै कालाकोटे वकिलहरू पनि साउनमा घुमघामको निम्ति अध्यागमनबाट निस्कने गर्दा रहेछन् । एक वरिष्ठ अधिवक्ताका अनुसार साउन महिनामा खासै वकालतको काम धेरै नहुने, लगभग १५ दिन त सर्वोच्चको इजलासै नबस्ने कारण यो बेला वकिलहरूलाई फुर्सद मिल्ने गर्दछ ।

त्यसैले हुने खानेहरू युरोप–अमेरिका, अलिक कमजोर आर्थिक अवस्थाकाहरू उपचार वा त्यस्तै वहानामा थाइल्याण्ड त कोही तिर्थ व्रत, बोलबम आदिको नाममा भारततिर हान्निँदा रहेछन् । शम्भु थापा, मेघराज पोखरेल, लव मैनाली, कृष्ण सापकोटाजस्ता नाम चलेका वकिल अहिले मुलुकभित्र छैनन् । उता अबको दुई हप्ताभित्र पाँचवटा ठाउँ रोज्ने फर्म भराइएका जिल्ला न्यायाधीशहरूको सरुवा र सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्तिको खेल टुंग्याउने सुरसार छ । सर्वोच्चमा न्यायाधीश बन्नेको बरियता लाइनमा पहिलो नम्बरमा बमबहादुर श्रेष्ठ छन ।

विश्वम्भर श्रेष्ठ भन्दा पनि सिनियर हुन् तर पञ्चायती प्रधानमत्री मरिचमान सिंह श्रेष्ठका भतिजा भनेर उनलाई पछि पारिएको बताइन्छ । उनी मध्यपश्चिमतिरको कुनै उच्च अदालतमा कार्यरत छन् । दुई नम्बरमा डम्बर शाही र तेस्रो नम्बरमा टंक मोक्तान छन् । न्यायाधीशबाट दुई जना ल्याउने र वकिलहरूबाट रमण श्रेष्ठलाई हाल्ने तयारी रहेको चर्चा छ । उता काँग्रेसले बाबुराम कुँवर, यदु खनाल, गोपालकृष्ण घिमिरेमध्ये कुनै एकजनालाई ल्याउने सोच बनाएको बताइन्छ ।

टिप्पणीहरू