तत्काल दुईटै कुरा ट¥यो

तत्कालका लागि राप्रपा फुट्ने र सरकारमा जाने सम्भावना टरेको छ । यो कसरी तुहियो भने ५६ जना केन्द्रीय सदस्य र १२ देखि १७ जनासम्म सांसद लिएर पार्टी फुटाउने योजना बनाएका पशुपति समशेरको तयारी थाहा पाएका कमल थापाले प्राविधिक रुपमा त्यसलाई रोक्न हतार हतार केन्द्रीय समिति विस्तार गरे । उनले त्यो योजना छेक्न ४२ जना केन्द्रीय सदस्य मनोनित गरे ।

यसअघि ९७ जना निर्वाचित रहेकोमा पहिल्यै मनोनित १९ बाहेक अब १३९ जना पुगेका छन । यसो हुँदा ५६ त के ६० जनाकै हस्ताक्षर लिए पनि नयाँ पार्टी दर्ताको लागि आवश्यक संख्या पुग्दैन । कमल थापाले हतारमा केन्द्रीय समिति विस्तारको कारणबारे सफाई दिँदै पशुपतिसमशेरले मच्चाउन खोजेको भाँडभैलो रोक्न त्यसो गर्नुपरेको स्पष्ट पारेको राप्रपासम्बद्ध स्रोतले बताएको छ ।

स्रोतकाअनुसार, विद्यार्थीका पूर्व अध्यक्ष कालिकोटे धनबहादुर बुढालाई सुनिल थापा मन्त्री हुँदा नेशनल ट्रेडिङमा अध्यक्ष नियुक्त गरिएको थियो । पशुपतिले उनी र अर्का युवा केन्द्रीय सदस्य राजेश गिरीलाई बोलाएर सही गर्नुप¥यो भनेपछि यो कुराको पोल खुलेको हो । एकातिर देउवाले मान्छे चोरेर सरकारमा ल्याउने र पशुपति समशेरले पनि केन्द्रीय सदस्य फकाएर पार्टी फुटाउने खेल शुरु गरेपछि हाललाई राप्रपा सरकारमा जाने सम्भावना टरेको बताइन्छ । त्यसो त राप्रपा अहिले सरकारमा जाँदा अगाडि आएका चुनावहरुमा कमजोर भइने निश्कर्षसहित बाहिरै बस्ने सम्भावना पनि छ । तर, पार्टीको पुरानो झण्डा र चुनाव चिन्ह हलो राखेर निर्वाचन आयोगमा जाने, अनि सरकारमा पनि मन्त्री खाने योजनामा राणा समूह लागेको थियो । थापा समूहले भने कांग्रेस र हाम्रो भोट बैंक एउटै हुनाले ऊसँगै सरकारमा बसेर भोट तान्न नसकिने तर्क गर्दै आएको छ । यता देउवाले भने आफ्नी सासू प्रतिभा राणालाई कहिले मन्त्री त कहिले राजदूत बनाएर राप्रपाभित्र खेल्ने त कहिले ससुराली खलक भएका कारण पशुपतिसमशेरलाई समातेर मान्छे तान्ने गर्दै आएका छन् ।

त्यही पार्टीमा कसै–कसैको नियति पनि कस्तो ! कमल थापाको ज्यादतीविरुद्ध बोल्दा तीन वर्षअघि कारबाहीमा परे । बीचमा राप्रपा समानान्तरतिर लागे । पछि पशुपतिसमशेर राणाको पार्टीमा पुगे । तर, राणाले आफ्नो पार्टीको तालाचाबी बुझाएपछि कमल थापाकै पार्टी  केन्द्रीय सदस्य बन्न आइपुगेका छन् ।

यस्तो नियति भोग्ने पात्र हुन् दिलविकास राजभण्डारी । राजभण्डारीउपर कमल थापाले भाटो चलाउनुको कारण हो, आफ्नो पैसा फिर्ता माग्नु । कमल थापासँग जसले पैसा फिर्ता माग्छ उसको अवस्था दिलविकासको जस्तै बन्न पुग्ने रहेछ । यसअघि पैसा फिर्ता माग्दा आरजु थापा कारबाहीमा मात्र परिनन्, पार्टीबाटै गलहत्याइन् । थापाका अनुसार, उनले कमल थापालाई २० लाख नगद दिएकी थिइन् । दिलविकासको पीडा पनि उस्तै हो, उनले हाल धुम्बाराहीस्थित पार्टी कार्यालय निर्माणका लागि १२ आना जग्गा दिएका थिए । जसको बजारमूल्य चार करोड ६ लाख छ ।

टिप्पणीहरू