संघारमै छ संक्रमण, सबै सावधान

संघारमै छ संक्रमण, सबै सावधान

कोरोनाको कारण निषेधित विभिन्न क्षेत्र पुनः सञ्चालनमा आउन थालेको छ । कर उठाउन सरकारले खुकुलो पारेको निषेधाज्ञा अहिले खुलेको छ । करिब डेढ वर्षदेखि अस्तव्यस्त बनेको व्यापार व्यवसाय कर तिर्नकै लागि भनेर पनि सञ्चालनमा आएको छ । मृत्युदर केही कम भए पनि कोरोना हटिसकेको छैन । साउनयता चाडबाडको ओइरो लाग्दै छ । दशैंतिहार क्रमशः आउँदै छ ।

त्यतिखेर कोरोनाको स्थिति कस्तो होला ? बाटोघाटोमा स्वास्थ्य मापदण्डको पालना नगरी हिँड्ने यत्तिकै छन् । सरकारले सबैका लागि बनाएको स्वास्थ्य मापदण्ड कसैले टेरेका छैनन् । जनताको मात्रै कुरा गरेको होइन । राजनीतिक दल र आन्दोलनकारी पनि यसभित्रै पर्छन् ।

विभिन्न विषयलाई लिएर दिनहुँजसो आन्दोलन जारी छ । राजनीतिक दलकै धर्ना र विरोध कार्यक्रमको पनि कुनै कमी छैन । कोरोनाका कारण सबै कार्यक्रम अनलाइनबाट सीमित गर्नुपर्ने ठाउँमा राजनीतिक दल आफैँ सयाैँ मान्छे बटुलेर कार्यक्रम गर्दै हिँडेका छन् ।

यसको सिधा असरचाहिँ सर्वसाधारणमा देखा परेको छ । सर्वसाधारण पनि हामीचाहिँ के कम भन्दै स्वास्थ्य मापदण्ड पालना नगरी कोरोना फैलाउँदै हिँडेका छन् । सार्वजनिक यातायातमा खुट्टा टेक्ने ठाउँ छैन । भेडाबाख्रा कोचेझैं यात्रु कोचेका छन् । समय र परिस्थितिको ख्याल कसैले गरेको देखिन्न ।

सरकारले निषेधाज्ञा खुकुलो पा¥यो भन्दैमा जथाभावी हिँड्ने स्थिति छैन । बाहिर जाँदा आफूलाई मात्र होइन अरुलाई बचाउन पनि स्वास्थ्य मापदण्डको अनिवार्य पालना जरुरी छ ।

विश्व स्वास्थ्य संगठनले भनेअनुसार ५ प्रतिशतभन्दा कम संक्रमणदर भएको अवस्थामा मात्र निषेधाज्ञा हटाउन मिल्छ । स्वास्थ्य मन्त्रालयले दिइएको जानकारीअनुसार नेपालमा १५ प्रतिशत संक्रमणदर कायमै छ । तैपनि, निषेधाज्ञा पूर्णरूपमा खोलिएको छ ।
उपत्यकाका तीनै वटा जिल्ला प्रशासन कार्यालयले निषेध गरिएका सबै क्षेत्र बिहीबारदेखि खोल्न दिएका छन् । जसमा पार्टीप्यालेस, सिनेमाघर, रात्रिकालीन व्यवसाय, हेल्थ क्लब, सैलुन, व्युटी पार्लर आदि पनि पर्छन् । विद्यालय सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

स्वास्थ्य मापदण्ड पालना गर्ने भनेर मात्र हुन्छ ? कति जनासम्म एउटा कार्यक्रममा उपस्थित हुन पाउने हो । तीजको लहर लाग्दो छ पार्टी प्यालेसमा दर खानेको संख्या पनि बढ्दो छ ।

कोरोनाको दोस्रो लहर कायमै छ । कोरोनाको दर उल्लेख्य रूपमा घटेको छैन भने सक्रिय संक्रमितको दर पनि कम भएको छैन । मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने, बेला बेलामा हात धुने, स्यानिटाइजरको प्रयोग पनि कसैले गरेको छैन । कोभिडको कहरबाट कोही पनि सुरक्षित छैनन् । त्यही पनि स्वास्थ्य मापदण्डमा हेलचेक्र्याइँ भइरहेको छ ।

उपत्यकामात्र होइन, सबै जिल्लामा कोभिडको रुपरंग उही छ । तर, फितलो अनुगमनको कारण जुनसुकै मोडालिटीको नियम होस् कसैलाई रत्तिभर फरक परेको छैन । अहिलेको लकडाउनलाई सरकारले स्मार्ट लकडाउनको नाम दिएको छ । लकडाउन छ जस्तै लाग्दैन स्मार्ट लकडाउनको त कुरै नगरौं ।

यस्ता लकडाउनमा पसल, डिपार्टमेन्टल स्टोर, मठमन्दिर, गुम्बा, सार्वजनिक स्थल, सार्वजनिक यातायात, होटल, रेस्टुरेण्ट, हाटबजार स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भनिएको छ । तर, यी कुनै पनि व्यापारिक क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना भएको देखिँदैन ।

सरकारले धर्ना, जुलुस, सभा, समारोह पनि स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने भनेको छ । आजसम्म कसैले स्वास्थ्य मापदण्ड पालना गरेर आन्दोलन, जुलुस, धर्ना भएको देखिएको छैन ।

उपत्यकाका प्रमुख स्थलमा मानिसहरू कामले भन्दा पनि बिनाकाम यत्तिकै टाइमपास गर्न हिँडेका भेटिन्छन् । राजनीतिक दल पनि विभिन्न भेला, समारोह आयोजना गर्दै हिँडेका छन् । राजनीतिक दलको बेला न कुबेला भेला जारी छ ।

चाड पर्व पनि क्रमशः ओइरिँदै छ । चाडबाड भनेपछि भीड नहुने कुरै भएन । मानिसहरू एक ठाउँबाट अर्को ठाउँ पुग्न तत्पर छन् । सरकारको नीतिले कोरोनाले अझै विकराल रूप लिन सक्ने संकेत दिइसकेको छ । बेलैमा सचेत होऔं ।

टिप्पणीहरू