पार्टी मिल्दा पनि विदेशीलाई पीर

बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकता प्रक्रिया अन्तिम अवस्थामा आएर टुट्नुमा हाम्रा दुई छिमेकीको पनि उत्तिकै चाख रहेको चर्चा छ । एकतासम्बन्धी वार्तामा संलग्न एक स्रोतकाअनुसार, धेरै कुरा मिलिसकेको थियो । खड्किने विषय पेश भएकै थिएनन् । आइतबार दिउँसोसम्म बाबुरामलाई नेता मान्न उपेन्द्र तयार थिए भने कार्यकारी भूमिकामा सक्रियतापूर्वक पार्टी सञ्चालनको जिम्मा दिन बाबुराम पनि सहमत थिए तर आइतबार निकै लामो समयसम्म चलेको वार्ताबाट बाहिरिएपछि बाबुरामले आफ्ना हस्तिहरुलाई बोलाएर ब्रिफिङ गरे, ‘अब यो प्रक्रियाको सबै सम्भावना सकियो, पार्टी एकीकरण नहुने भो ।’

चुरो कुरो के भने दक्षिणले यसबीच, पटक पटक उपेन्द्रलाई भनेको रहेछ, ‘महन्थ ठाकुरलाई सर्वमान्य नेता मानेर आफूले पार्टी हाँक्ने वातावरण बनाऊ । नयाँ शक्तिसँग होइन, राजपासँग एकीकरणको प्रक्रियामा जाऊ ।’  स्रोतकाअनुसार उपेन्द्रले मधेशको लागि राजनीति गर्नुपर्ने र त्यसभन्दा बढी महत्वाकांक्षा राख्दा सफल नहुने भन्दै चेतावनीयुक्त सुझाव दिइएको थियो । त्यसो त नयाँ शक्तिका नेताहरुले पनि वार्ता भाँडिनुको प्रमुख कारकका रुपमा उपेन्द्रको ‘मधेशसिमित’ सोच, बृहत दृष्टिकोणको अभाव र राष्ट्रिय राजनीतिको केन्द्रमा रहने क्षमताको कमीलाई औंल्याउने गरेका छन् । उता, बाबुरामलाई चाहिँ जुनसुकै चिनियाँले भेट्नेबित्तिकै ‘लेफ्ट युनिटी’ (वाम एकता) गर्दा राम्रो हुने हो, त्यर्सै गर्दा ठीक होला कि जस्तो लाग्छ’ भन्दै घुमाउरो सल्लाह दिने गरेका रहेछन् । यसको अर्थ दुवै देशले यो खालको एकतालाई मन पराएका थिएनन् । नयाँ शक्तिभित्रका गैर माओवादीहरु जस्तैः केशव दाहाल, देवी ओझा, वीरेन्द्र पोखरेल, डम्बर खतिवडाहरु पहिलेदेखि नै उपेन्द्रसँग एकताको विपक्षमा थिए । उपेन्द्र अघिल्लो चरणको चुनावसम्म बाबुरामलाई पहिलो दर्जाको नेता मान्न तयार थिएनन् । तर जब दोस्रो चरणमा पनि तालमेलका बाबजुद राम्रो नतिजा आएन अनि मात्र पार्टी एकीकरणको लागि धेरै शर्त छाड्न तयार भए ।

तर, आइतबार साढे ११ बजेदेखि बैठक बसेर केन्द्रीय निकायको संयोजन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, विवाद समाधानको जिम्मेवारी, वैचारिक नेतृत्वलगायत ५ वटा काम बाबुरामले गर्ने कुरामा सहमति भयो । उपेन्द्रले दैनिक पार्टी सञ्चालनलगायत ६ वटा मुख्य काम गर्ने पनि तोकियो । हिमाल, पहाड, तराई एकीकरण अभियान भनिएको यो वार्तामा हेमराज राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउत, रेणु यादव, देवेन्द्र पौडेल, रामचन्द्र झा, पर्शुराम तामाङ, दुर्गा सोव, हिसिला यमी, महेन्द्र पासवानहरु सामेल थिए । तर सोही दिनदेखि यसको विधिवत् अन्त्य भयो, वार्ता टुट्यो ।

टिप्पणीहरू