सरकारी छाप र दस्तखत किर्तेदेखि बालयौन दुराचारमा फरार प्रतिवादी पक्राउ

सरकारी छाप र दस्तखत किर्तेदेखि बालयौन दुराचारमा फरार प्रतिवादी पक्राउ

पर्सा र मकवानपुरमा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका ५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना तोकेपछि फरार रहेका मिश्रलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका २, बागवानीबाट पक्राउ गरेको हो ।

यस्तै चोरी मुद्दाका फरार प्रतिवादी मकवानपुरको साबिक छतिवन गाविस ४ बस्ने ३१ वर्षीय रामबहादुर घलानलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको २०७१ भदौ १८ गतेको फैसलाले चोरी मुद्दामा ३ वर्ष ८ महिना २३ दिन कैद सजाय भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका ४ बाट पक्राउ गरेको हो ।

बालयौन दुराचारको मुद्दाका फरार प्रतिवादी मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २४ वर्षीय देवेन्द्रबहादुर टुप्पालाई पनि हिजो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको २०७७ असोज १९ गतेको फैसलाले उक्त मुद्दामा टुप्पालाई ११ महिना १५ दिन कैद सजाय भई भुक्तान गर्न बाँकी रहेकै अवस्थामा फरार रहेका उनलाई प्रहरी चौकी हात्तिसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

टिप्पणीहरू