लोक सेवाको नक्कली हाकिम प्रहरीको फन्दामा

लोक सेवाको नक्कली हाकिम प्रहरीको फन्दामा

लोकसेवा आयोगको हाकिम भएकोले सरकारी जागिर लगाइदिने प्रलोभन दिदै सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर ४ घर भई सुनसरी धरान उपमहानगरपालिका ५ मा डेरा लिई बस्ने ५२ वर्षीय कुमार थापा मगर भनिने अमरबहादुर लामिछाने हुन् ।

हिजो साँझ उनीविरुद्ध एक पीडितले किटानी जाहेरी गरेपछि प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्धको जाहेरीमा लोकसेवा आयोगमा जागिर लगाउने प्रलोभन दिएर रकम ठगी गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार लामिछानेले रकम लिएर लोकसेवा आयोगको प्रवेशपत्र वितरण गर्नुका साथै लाखौं रकम लिएर लेनदेनको कागज बनाई रकम असुल्ने गरेका थिए ।

प्रहरीले उनको डेरामा छापा मार्दा सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप,लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ, गोप्य लेखेको छाप,जिबछ लामिछाने,नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ, प्रहरी निरीक्षक, उपसचिव र राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप एक एक थान फेला परेको छ भने लोकसेवा आयोग कार्यालय धनकुटाको डिजिटल छाप र शाखा अधिकृत लेखेको छापसहित छाप अनुरुपका लेटरप्याड पनि बरामद गरेको छ ।

र, यी सबै छाप र लेटर प्याडको आधारमा लामिछाने बहुरुपी ठगका रुपमा क्रियाशील रहेको अनुमान प्रहरीको छ । पक्राउ परेका लामिछानेविरुद्ध सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा अनुसन्धान शुरु गरिएको छ ।

टिप्पणीहरू