​चुनाव परिणामपछि राजाले अब के गर्ने ? « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

​चुनाव परिणामपछि राजाले अब के गर्ने ?

प्रकाशित मिति :  ८ श्रावण २०७४, आईतवार १९:२०


दानदास श्रेष्ठ, (राजाका पूर्वसहायक संवाद सचिव)

दरबार हत्याकाण्डपछि आफ्नो भाग्य (दुर्भाग्य ?)ले राजा बन्न पुगेका ज्ञानेन्द्रको शासन केही वर्ष मात्र हेर्न पायौं । २ सय ४० वर्षे शाहवंशीय राजतन्त्र मात्र होइन करिब ४ हजार वर्षदेखिको राजतन्त्रात्मक राजनीतिक व्यवस्था नै समूल अन्त्य भएको पनि हाम्रै युगमा देख्यौं, भोग्यौं । 
कुनै बेला माओवादी क्रियाकलाप टिकाउ हुन्न भनिन्थ्यो । रोल्पा, रुकुम, जाजरकोटलगायत ३९ जिल्ला हाम्रो पकडमा छ भन्थे उनीहरू ।

सशस्त्र प्रहरीका प्रथम आइजीपी कृष्णमोहन श्रेष्ठलगायत अन्य वरिष्ठ प्रहरी पदाधिकारीसँगै एउटै टेबलमा नेपाल जेसिजको एक कार्यक्रममा भेट हुँदा उनीहरूको आक्रमण दिगो हुन नसक्ने बताएका थिए । त्यसको केही महिनापछि उनै कृष्णमोहनको हत्या भयो । उनीहरू काठमाडौं छिर्न नसक्ने सुरक्षाकर्मीको दाबी थियो । छैमले घटना, साँखु थानकोट चौकी आक्रमण आदिले त्यो दाबीलाई पनि गलत सावित गरिदियो । 
सबै जनतालाई एकै समान सम्झिँदै तत्काली राजा वीरेन्द्रका विज्ञप्ति, भाषणमा माओवादीलाई बाटो बिराएका शब्द प्रयोग गरिन्थ्यो ।

माओवादीलाई निमिट्यान्नै पार्नुपर्छ भन्ने मानसिकता नभएको कुरा त राजाका तत्कालीन कामकारबाहीबाटै देखिन्छ । त्यसैले होला ०५८ सालको दरबार हत्याकाण्डपश्चात् माओवादीका तर्फबाट राजा वीरेन्द्रसँग कार्यगत एकता रहेको भनाइ आएको थियो । दरबार हत्याकाण्डपछि रोलक्रमले गद्दी सम्हाल्न पुगेका ज्ञानेन्द्रले पिता महेन्द्रले जस्तै राज्य सञ्चालनको नीति अख्तियार गर्न सकिन्छ कि भनेर तुलसी गिरीलाई विदेशबाट नेपाल झिकाएर मन्त्रिपरिषद्मा समावेश गरे । 

विदेशमा पलायन भई बसेका व्यक्तिलाई ल्याइएकामा स्वदेशस्थित दिग्गजहरू रुष्ट देखिए भने राजाका । राजाका कामकारबाही पनि एकपछि अर्काे निरंकुश हँुदै गए । विधिवत् राजा भएका तर राज्याभिषेक गर्न नपाएका ज्ञानेन्द्रले शासन सम्हालेको केही महिनापछि नै नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई दिएको एक अन्तर्वार्तामा आफू दाजु (राजा वीरेन्द्र) जस्तो चुप लागेर नबस्ने भनी दिएको अभिव्यक्तिले धेरैमा डरत्रास पैदा गरिदियो । 

उखान नै छ, जीवनको उत्तराद्र्धसँगै दाँत पनि खिइँदै सकिएर जान्छ तर त्यही मुखभित्रको जिब्रो भने जीवनपर्यन्त रहिरहन्छ, किनभने जिब्रोको स्वभाव नरम छ तर दाँतको स्वभाव कडा । यस्तै स्वभावका कारण ०६५ सालमा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने अवस्था आयो । भन्न त जनताको नासो श्रीपेच जनतालाई राख्न दिएको भनिएको छ । तर बेलाबखत त्यो नासो फिर्ता लिने वा श्रीपेच पहिरिने लालसा पनि प्रकट हुने गरेको छ । धार्मिक, सामाजिक कार्यमा उपस्थिति जनाउँदै तत्तत् स्थानमा एकत्रित जनसमुदायमाझ आवश्यक पर्दा सिंहासनमा बस्न सदा तयार रहेको मनसाय प्रकट हुने गरेको छ । कडा स्वभावका राजा ज्ञानेन्द्रको दोस्रो पटक राजगद्दी आरोहणको ६ वर्षमा पनि राज्याभिषेकका लागि कुनै साइत जुर्न सकेन । गणतन्त्र आएको दशक बितिसक्दा पनि एक ठूलै जमातले लगातार उनलाई राजा मानिरहेका छन्, राजाप्रति प्रगाढ प्रेम देखाइरहेका छन् । अघिल्लो शुक्रबार ज्ञानेन्द्रको ७१औं जन्मदिनका अवसरमा निर्मल निवासमा आयोजित जन्मोत्सव विशेष समारोहमा सहभागी निकैमध्ये एक जनाले १२ वर्षमा खोलो पनि फर्कन्छ । अब त्यो निकट छ, गद्दी आरोहण हुन्छ, भने । 

आफू तेस्रो पटक गद्दी आरोहणका लागि लालायित भइरहेको बुझ्न गाह्रो छैन । यद्यपि, सञ्चारकर्मीलाई जवाफ दिँदा भने ….जनताले चाहेमा….भन्ने वाक्यांश छुटाउँदैनन् । भित्री आशयमाचाहिँ राजतन्त्र पुनःस्थापनाको सपना जाज्वल्यमान भेटिन्छ । राष्ट्रपति विद्या भण्डारीकी छोरीको वैवाहिक निम्तो मान्न गएका बेबी किंगको कल्पना गरिएका नातिको व्रतबन्धको उपलक्ष्यमा राष्ट्रपतिलाई निम्त्याइएको पछिल्लो अवस्थाले अब पनि राष्ट्राध्यक्ष र पूर्वराष्ट्राध्यक्षबीच गणतन्त्रको कित्ताकाट भइसकेको अनुभूति हुन्छ । 

गणतान्त्रिक व्यवस्थाअनुसार स्थापित संविधानअन्तर्गत स्थानीय तह निर्वाचन सम्पन्न भई जनप्रतिनिधि निर्वाचित हुनुका साथै कामकारबाही पनि थालिसकेको अवस्था छ । 

राजतन्त्रको बचावटका लागि जनआन्दोलनका बेला होस् वा राजाले नारायणहिटी छाड्ने बेला सतहमा मुसो पनि नदेखिएको अवस्था थियो भने समय क्रममा कमल थापा नेतृत्वको राप्रपा नेपालले खुलेरै राजतन्त्रको वकालत गर्दै आएको हो । तर ज्ञानेन्द्रको जन्मदिनमा देखिएको भीडमा कमल थापा र उनका दौंतरी कोही भेटिएनन् । यस्तै, आपसी एकता नभएकैले गत पुस २७ गते सिंहदरबारअगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न गएका राजावादीबीच बीचसडकमै कुर्सी हानाहान भएको थियो । राजाका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन पनि त्यहीँ थिए । 

राजतन्त्र फर्किने आत्मरति पालेर बस्नुभन्दा मुलुकलाई युगसुहाउँदो अग्रगामी निकास कसरी दिन सकिन्छ त्यतातिर दृष्टि दिन सके समयको सदुपयोग हुने थियो । अब चुनाव उपयोग गरेर राजतन्त्रको अस्तित्व जोगाउने प्रयास गर्नु उपयुक्त कदम हुनेछ । कमल थापासँग सम्बन्ध चिसिएको अवस्थामा प्रकाशचन्द्र लोहनीको राप्रपा (राष्ट्रवादी) का निम्ति सहयोगी बन्नुपर्छ । स्थानीय तह निर्वाचनमा ललितपुर र चितवनबाट विजयी दुई जनाले अनवरत जित्दै आएका हुन् । जनताले चाहेपछि जतिपटक पनि जित्न सकिने रहेछ । त्यसका लागि योग्यता एकै खेमाको मात्र नभई सर्वजनप्रिय बन्न सक्नु पनि हो । 

आपसमा मिल्न नसकेका दलहरू पूर्वराजाले फणा उठाउन लागे भनेर बेलाबेलामा एकजुट हुने गरेको इतिहास पनि हामीसँग छ । सतर्कताको प्रतीकका रूपमा बसेर पनि राष्ट्रको सेवा गर्न नसकिने होइन तर मुलुकको संक्रमणकालीन अवस्थामा मात्र यस्तो प्रक्रियाको उपयोग हुन सक्छ । 
राजतन्त्र फर्काई छाड्ने इच्छा हो भने त्यहीअनुसारको पूर्वतयारी आवश्यक हुन्छ । तर, त्यसका लागि निकै ठूलो जोखिम उठाउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत नेपालको गणतन्त्र अनुमोदन भइसकेको अवस्था छ । त्यसलाई भत्काउन निकै गाह्रो हुन्छ । चीन, भारत र अमेरिकासँग नजिकको सम्पर्क राखेर आफ्नो पक्षमा ल्याउन सक्ने ज्ञानेन्द्रको वरिपरिका सचिवहरूको के ताकत ? उता पूर्वयुवराज पारसको वास्तविक गतिविधिका कारण पनि आमनागरिकमा राजसंस्थाप्रति वितृष्णा छ । एक्लो पुत्रको साथ र सहयोग पनि पाउन नसकेका ज्ञानेन्द्रका लागि राजतन्त्र फर्काउने तयारीमा जुट्नु निकै जोखिमको कुरा अवश्य हो ।

हिजोआज राजधानीलगायत विभिन्न शहरका बजार चोकमा स–सानो समूहमा कोणसभा राजाको नाममा भइरहेका छन् । राजाका ठूला तस्वीरै टाँगेर गर्ने गरिएका त्यस्ता कार्यक्रमहरू आफ्नो निर्देशनमा नगराइएको र त्यसमा आफ्नो संलग्नता छैन भने स्पष्टैसँग विज्ञप्तिमार्फत सार्वजनिक गर्न सकिन्छ । 

रूखको टुप्पोभन्दा फेदमा बस्नेलाई रिँगटा लाग्छ भन्ने उखानजस्तै राजकाजमा स्वयं राजाभन्दा बाहिरकालाई बढी टाउको दुखाइ हुने गर्छ । हिजोआज राजावादीबाट राजासम्बन्धी कार्यक्रममा, सामाजिक सञ्जालमा श्री ५ महाराजाधिराज, मौसुफ, गरिबक्स्यो, भनिबक्सियोस् आदि राजसी शब्दहरूको खुलेआम प्रयोग हुने गरेको छ । जब कि मुलुक गणतन्त्रमा गइसकेपछि राजा स्वयं सञ्चारकर्मीलाई तपाईं भनेर सम्बोधन हुन थालेको छ । आमनागरिकसँग बोलीचालीको तहमा सम्पर्क हुँदा तिमी को ठाउँमा तपाईं शब्दको प्रयोगमा जोड दिनु युगसुहाउँदो कदम हो । यसअघि राजामहाराजाबाट तिमी भनेर सम्बोधन हुन्थ्यो । 

त्यस्तै निर्मल निवासबाट प्रकाशित हुने शुभकामना कार्ड तथा अन्य दस्तावेजमा पूर्व श्री ५ महाराजाधिराज उल्लेख गर्ने परिपाटी बसालिएको छ । महाराजाधिराजचाहिँ पूर्व हुने तर उनका सचिवहरूचाहिँ पूर्व नहुने अनौठो प्रचलन पनि यहीँ छ । फणिराज पाठक, सागर तिमल्सिनाले समयानुकूल पूर्वसचिव कहिल्यै लेखेको देख्न पाइन्न ।


प्रतिक्रिया दिनुहोस !