कांग्रेस महाधिवेशनमा गुरु बा हरु छपक्कै

कांग्रेस महाधिवेशनमा गुरु बा हरु छपक्कै

कोरोना महामारीले देशभरका विद्यालय बन्द भएको मौकामा नेपाली काँग्रेसले चौका हानेको छ । विद्यालय बन्द हुँदा फुर्सदिला रहेका शिक्षकहरुलाई काँग्रेसले पार्टी अधिवेशनमा भरपुर प्रयोग गरेको हो ।

हुन त राजनीतिक दलका कार्यक्रममा शिक्षकहरुको सहभागिता स्वभाविक मानिंदैन । शिक्षक आचार संहितामा पनि शिक्षकहरुले कुनै पनि दलको सदस्य र प्रतिनिधि बन्न नहुने प्रष्ट उल्लेख छ । तर,हालै सम्पन्न काँग्रेसको वडा तहको अधिवेशनमा अधिकांश ठाउँका शिक्षकलाई निर्वाचन अधिकृत बनाइएको छ ।

आफूलाई मन परेको पक्ष र उम्मेदवारलाई जिताउने-हराउनेसम्मको चलखेल हुने भएकाले शिक्षकहरु स्वयं निर्वाचन अधिकृत बन्न मरिहत्ते गर्ने गरेको बताइन्छ । नेपाली कांग्रेसको बलियो प्रभाव मानिएको नुवाकोटमा मतदान अधिकृत बनेका एक शिक्षकले त्यस्तै भूमिका खेलेको ब्यापक चर्चा छ ।

शिवपुरी गाउँपालिकाको वडा नम्बर ८ मा भएको निर्वाचनमा निर्वाचन अधिकृत रहेका ती शिक्षकले आफू अनुकूलका उम्मेदवारलाई जिताएको भन्दै पराजित पक्ष आगो भएको छ । उक्त वडामा अर्जुननरसिंह केसी र रामशरण महत प्यानलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । तर,स्थानीय महेन्द्र माविमा धामी थरका शिक्षकको बदमासीले महतको मान्छेलाई जिताइएको केसी पक्षको आरोप छ । पराजित पक्षले कानुनी लडाईका लागि अदालत जाने बताएको छ ।

हुन त,राजनीतिमा शिक्षकहरुको सहभागिता नेपालमा नयाँ होइन । कांग्रेस र कम्युनिष्टले मात्र होइन राप्रपालगायतका साना पार्टीले पनि शिक्षकहरुको संगठन नै बनाएका हुन्छन् । दलहरुले तिनै शिक्षकलाई महाधिवेशनका बेला मतदान अधिकृत बनाउने गरेका छन् ।

राजनीतिमा आस्था राख्न पाउनु हरेक नागरिककोजस्तै शिक्षकहरुको पनि अधिकार हो। तर,आचारसंहिता बिपरित दलको कार्यकर्ता जसरी प्रस्तुत हुनुले चैं सिंगो शिक्षक संगठनमाथि नै नैतिक प्रश्न उब्जाएको छ ।

टिप्पणीहरू