एमसीसी उपाध्यक्षको टोलीलाई माधव नेपालको जवाफ

एमसीसी उपाध्यक्षको टोलीलाई माधव नेपालको जवाफ

आज बिहान काठमाडौं उत्रेलगत्तै भेटघाटमा व्यस्त एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग साँझ सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ । एकीकृत समाजवादीका पाँच जना नेता सम्मिलित टोलीसँग एमसीसीले करिब डेढ घण्टा कुराकानी गरेको थियो ।

भेटवार्तामा सहभागी नेता गंगालाल तुलाधरका अनुसार एमसीसी टोलीले नेपाल सरकारले सोधेका लिखित प्रश्न र अन्य धेरै पक्षबारे प्रष्टाएको थियो । उहाँले भन्नुभयो,‘हामीले पनि धेरै प्रश्न गर्यौं । उहाँहरुले धेरै कुरा स्पष्ट पार्ने कोशिस गर्नुभयो ।’

नेता नेपालले उपाध्यक्ष सुमारलाई दिएको जवाफ उद्धृत गर्दै एकीकृत समाजवादीका एक जना नेताले भने, ‘चार वर्षदेखि थाती रहेको विषय हो यो । अहिले गठबन्धन सरकार छ । हामी मात्र होइनौं,अरु चार दलसँग पनि कुरा गर्नुपर्ने अवस्था छ । नेपाली जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपाल र नेपाली जनताको हितमा छ भन्ने कुरो तपाईंहरु नेपाल आएको बखत अरुलाई पनि सुनिश्चित गराइयोस् ।’

नेकपा समाजवादीबाट पनि उनीहरुले धेरै अपेक्षा गरेको कतिपय जिज्ञासाबाट नै प्रष्ट भएको ती नेताको भनाई छ । एमसीसी टोलीले नेपाली जनताको हितमा रहेको कुरो बारम्बार दोहोर्याएको थियो । उनीहरुले पटक पटक ‘हामी कुनै पनि हिसाबले दबाब दिने आशयले नेपाल आएका होइनौं’ भन्दै अमेरिकी धारणालाई प्रष्ट पारेका थिए ।

नेकपा समाजवादी टोलीले राष्ट्रहितभन्दा पर गएर केही पनि गर्न नसकिने टिप्पणी पटक पटक गरेको थियो । कुराकानीको क्रममा यो विषयलाई पेचिलो बनाउनेमा कतिपय अमेरिकी अधिकारीहरु पनि जिम्मेवार रहेको सन्दर्भ उठेको थियो । विगतमा उनीहरुले अनावश्यक ढंगले दिएको प्रतिक्रियाले विषय कचल्टिन पुगेको समेत अमेरिकी टोलीलाई जानकारी गराइएको बताइन्छ ।

टिप्पणीहरू