काँग्रेस नेताका सन्तान राजनीतिमा कति सफल ?

काँग्रेस नेताका सन्तान राजनीतिमा कति सफल ?

नेपाली राजनीति र समाजमा राजनीतिज्ञहरुका सन्तानको प्रवेश र सक्रियतामा गज्जबको बिरोधाभाष देखिन्छ । राजनीतिज्ञका छोराछोरीले राजनीतिमा भाग नलिँदा वा राजनीतिभन्दा अन्य गतिविधिमा संलग्न भइरहँदा समाजले विभिन्न खालका टिकाटिप्पणी समेत गर्ने गरेको पाइन्छ ।

राजनीतिबाट टाढा रहेकालाई समाजले आफ्नै ढंगले आलोचना गर्छ भने राजनीतिमा सक्रिय बनाइएको अवस्थामा,‘बाउको दौराको फेरो समाएर भाग खान आएको’ बात लाग्ने गरेको छ । यही बिरोधाभाषबीच सरकारको नेतृत्व गरेको संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केही नेताका सन्ततिले आफ्नो राजनीतिक भाग्यलाई उज्यालो बनाउने प्रयास गरेका छन् ।

दैलेखकी १९ वर्षे स्वस्तिका महत तिनै मध्येकी हुन् । दुल्लु नगरपालिका ३ को वडा समिति सभापतिमा सर्वसम्मत निर्वाचित महत जिल्लामा प्रभावशाली नेताकी सुपुत्री हुन् । उनका पिता भुपेन्द्रजंग महत काँग्रेस दैलेखमा अघिल्लो कार्यकाल उपसभापति थिए । त्यसअघि नेपाल विद्यार्थी संघ र तरुण दलको जिल्ला कार्यसमिति सभापति भइसकेका हुन् । महतको क्यान्सरका कारण मृत्यु भएको थियो ।

१४ औं महाधिवेशनमा राजनीतिमै आफ्नो भविश्य खोज्न सुर कसेका अर्का नेतापुत्र हुन् स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुराग । दाङको लमही नगरपालिका ८ बाट राजनीतिक जीवनको गोरेटो खन्दै गरेका अनुराग भदौ २१ गते सम्पन्न क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएका छन् ।

भर्खरै जयसिंह देउवा अर्का चर्चित पात्र बनेका छन् । बेलायतको पढाई सकेर नेपाली राजनीतिमा आफ्नो भाग्य चम्काउन उनी पनि लागि परेको अनुमान गर्न गाह्रो छैन । जयसिंह प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पुत्र हुन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ बाट उनले काँग्रेसको क्रियाशील सदस्यता लिएका छन् ।

महाधिवेशन नजिकिँदै जाँदा काँग्रेसको केन्द्रीय सभापतिमा थुप्रै नेताका सन्तानले दाबी गर्न थालेका छन् । संस्थापक नेता बीपी कोइरालापुत्र डा. सशांङ्क कोइराला आगामी महाधिवेशनमा सभापतिका दह्रो उम्मेदवार हुने देखिएका छन् ।

पूर्वमहामन्त्री स्व. महेन्द्रनारायण निधीपुत्र विमलेन्द्रसमेत सभापतिकै दौडमा लागेका छन् । डा. शेखर र सुजाता कोइरालासमेत कोइराला खानदानको विरासत थाम्दै नेपाली काँग्रेस र मुलुककै राजनीतिको शीर्ष स्थानको निम्ति भएको दौडमा निस्किएका छन् । शेखर नोना कोइराला र सुजाता पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पुत्र पुत्री हुन् ।

सभापतिका अर्का दाबेदार कल्याण गुरुङ्ग पनि प्रजातन्त्र सेनानी पिताका सुपुत्र हुन् । सर्वोच्च नेता स्व.गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह यसअघि नै उपसभापति भइसक्नुभएको छ ।

टिप्पणीहरू