कोही फेरि असक्षम नहोउन्

हामीले बारम्बार सुन्ने गरेको कथा हो, रोम शहर आगोमा जलिरहँदा त्यहाँका शासक निरो भने बाँसुरीको धुनमा मस्त थिए । हो, अहिले नेपालमा त्यस्तै देखिँदैछ । धेरै कुरा तत्कालै गर्नुपर्नेछ । समयमै काम फत्ते नगर्ने हो भने मुलुक गम्भीर राजनीतिक संकटमा पुग्ने निश्चित छ ।

तर, कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवालाई ती कुनै कुराको पर्वाह भएझैं देखिँदैन । उनी आफ्नै सुरमा, धुनमा र अनावश्यक काममा समय व्यतित गरिरहेका छन् । केही समयअघि उनको एकदिनको कार्यतालिका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जसमा तीनवटा विवाहभोजमा सामेल हुने कुरा प्रष्ट देखिन्थ्यो । यहाँ यो प्रसंग किन उठाइएको हो भने देउवाले प्रधानमन्त्रित्व सम्हालेको यत्तिका दिन बितिसक्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । उनको ढिलासुस्ती कतिसम्म छ भने आजसम्म आफ्नै सचिवालयसमेत तयार गर्न सकेका छैनन् । 

विडम्बना नै भन्नुपर्छ, इतिहासमा पटक–पटक चुनाव गराउन असमर्थ उनै शेरबहादुर देउवाले अत्यन्त छोटो समयमा संघीय सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नैपर्ने हुन्छ । तर, आमनेपाली असोज २ गतेका लागि घोषित स्थाीय तहको तेस्रो चरण अर्थात् प्रदेश २ को चुनावसमेत उनको नेतृत्वमा सम्भव हुनेमा शंका गर्छन् । सामान्यतः कार्यकारी प्रमुखले समस्या उजागर गर्ने नभएर समाधानको उपाय खोज्नुपर्ने हो तर प्रधानमन्त्री नै संविधानले तोकेको भन्दा बढी सांसद संख्या पु¥याउन र सोहीअनुरुप निर्वाचन क्षेत्र निश्चित गर्न लागिपरेका छन् । दोहो¥याइरहनु जरुरी छैन कि अब प्रत्यक्ष निर्वाचित कति सदस्यीय संसद् बनाउने र कतिवटा निर्वाचन क्षेत्रमा मुलुकलाई चिरा पार्ने भन्ने बहस थालियो भने त्यो अनन्तसम्म चल्छ । जसले त्यत्तिकै पनि अनपेक्षित ढंगले लम्बिँदै गएको संक्रमणकाल अझ बढ्न सक्ने वातावरण निर्माण गर्नेमा दुईमत छैन । 

उमेरको हिसाबले पनि परिपक्व बनेको प्रमाणित गर्नुपर्ने अवस्थामा पुगेका र इतिहासमा फेरि एकपटक विगतका असक्षमतालाई ढाकछोप गर्ने मौका पाएका शेरबहादुर देउवाले अहिल्यै गर्नैपर्ने धेरै काम पनि छैनन् । बस् संसद्बाट जतिसक्दो चाँडो निर्वाचन क्षेत्र निर्धारण, प्रदेश र संघीय सभाको निर्वाचनसम्बन्धी ऐन पारित गर्नुपर्छ । निर्वाचन आयोगलाई उसले माग गरेअनुसारको सहयोग र आवश्यक वातावरण बनाउनुपर्छ । कार्यकारी प्रमुख भएको नाताले प्रमुख प्रतिपक्षी र असन्तुष्ट राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिका लागि आवश्यक वातावरण बनाउने काम गर्नुपर्छ । तर, प्रधानमन्त्रीलाई यी सबै काम मेरो जिम्मेवारीमा छ भन्ने कुराको हेक्का छ वा छैन भन्नेमा नै शंका गर्दा हुने पर्याप्त आधार खडा भइसकेका छन् । तर, पनि हाम्रासामु अरु कुनै विकल्प छैन । के मात्र आशा गर्न सकिन्छ भने शेरबहादुर फेरि असक्षम प्रमाणित नहुन् ।

टिप्पणीहरू