क्यान्सरको औषधि बेच्दा कर्याप्पै

क्यान्सरको औषधि बेच्दा कर्याप्पै

क्यान्सरको औषधि बिक्री गरेको अभियोगमा हिजो एक जना समातिएका छन् । काठमाडौंको महाराजगन्ज घर भई बूढानिलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई करिब ९ लाख बराबरका विभिन्न औषधीसहित प्रहरीले पक्राउ गरेको हो ।

गल्फुटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु भन्सार छली अवैध रुपमा कारोबार गरिरहेको सूचनासहित महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले प्रवललाई पक्राउ गरेको हो ।

प्रवलले भारतमा रहेका आफन्तमार्फत ओखती मगाई लामो समयदेखि काठमाडौंका बिभिन्न पसल,हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यसैबीच काठमाडौं र महोत्तरीमा लागूऔषध सहित प्रहरीले दुई जनालाई समातेको छ भने दुई जना फरार भएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट करिब १ केजी ८ सय ग्राम गाँजासहित धादिङ थाक्रे गाउँपालिका–३ घर बताउने २८ वर्षीय मोतिलाल तामाङलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री तामाङलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै,महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाईट्राभेट र ४ बोतल कोडाराईन सिरपसहित सोही ठाउँका २४ वर्षीय आशिष खड्का पक्राउ परेका छन् । प्रदेश २–०२–००४ प १८७८ नम्बरको मोटरसाइकलमा सवार आशिषलाई ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता,बर्दिबास नगरपालिका–११ स्थित झल्ला ड्यामबाट करिब १५ केजी गाँजा बिहीबार बिहान बरामद भएको छ । खयरमाराबाट खटिएको प्रहरीलाई देख्नासाथ २ जना अपरिचित व्यक्ति झोलामा रहेको गाँजा फालेर भागेपछि प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो ।

उता  रूपन्देहीको रोहिणी गाउँपालिका–३ रामनगरमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । ग १ क ३२४६ नम्बरको ट्रकले लु ५६ प ४४९२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक २५ वर्षीय नजारे मुसलमानको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३३ वर्षीय राजेश निसादको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार रहेका ट्रक चालकको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू