​सुरक्षाकर्मीमाथि ढुंगा उज्याउँदै सभापति

पावर भएपछि नेताले भयंकरको हर्कत देखाउँदा रहेछन् । १५ स्थानीय तह रहेको झापामा अरू सबैतिरको मतगणना सकिँदा पनि अर्जुनधारा नगरपालिकामा भने निकै दिन लाग्यो । नेपाली कांग्रेस र झापा जिल्ला सभापति उद्धव थापाले चुनाव हार्नै लागेको रनाहामा सशस्त्र प्रहरीलाई ढुंगा हान्न पुगे । कसो–कसो अरूले थुम्थुम्याए ।

विवाद भइरहेका बेला निषेधित क्षेत्रमा उनी एक्लै छिर्न खोजे । तर, प्रहरीले रोक्दा थापाले ठेलठाल गरे । ती प्रहरीले पनि तीनगुुणा तागत निकालेर उनलाई अलिक पर पुग्ने गरी हुत्याइदिए । रिसले चुर भएका थापा टपक्क ढुंगा टिपेर मनपरी बोल्दै सशस्त्र प्रहरीलाई हिर्काउन कुदे । अरू प्रहरीले छेकेपछि मात्र उनले ढुंगा भुइँमा झारेको भिडियो जनआस्थालाई प्राप्त भएको छ ।

निर्वाचन र मतगणनामा खटिएका प्रहरी त्यस ठाउँका लागि नयाँ हुन्छन् । उनीहरूले सबै भिआइपीलाई चिन्ने कुरै भएन । मतगणना भइरहेको ठाउँमा एमालेबाट त्यसै क्षेत्रका सांसद प्रेम गिरी पुगेका थिए । सुरक्षाकर्मीको अनुमति मागेर मतगणनास्थलमा केहीबेर बसी फर्किए । यो कुरा उद्धवको कानमा पुग्यो । संविधानसभा चुनावमा आफैँलाई पराजित गरी सांसद बनेका गिरी मतगणनास्थलमा गएको सुनेपछि उनी पनि दौडिएर भित्र छिर्न खोजे । तर, प्रहरीले पस्न दिएनन् । अब अरू निहुँ के चाहिन्थ्यो र ! शुरु भयो लफडा । कांग्रेसले विवाद यतिसम्म चर्कायो कि मतगणना ९१ घण्टासम्म रोकियो । 

अर्जुनधारामा सर्वदलीय बैठकसम्म बस्न सकेन । भोलिपल्ट सदरमुकाम चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा बैठक बस्यो । तर, निश्कर्षमा पुगेन । मुद्दा निर्वाचन आयोगमै पुग्यो । आयोगले २४ घण्टापछि निर्देशन दियो, ‘मतगणना जारी राख्नु ।’ तर, कांग्रेस किन मान्थ्यो र ! पार्टी सभापतिले जो मतगणनास्थलमा छिर्न पाएका छैनन् ।

निकै लामो प्रयासपछि प्रजिअ उत्तरकुमार खत्रीले विवाद समाधान गरे ।१४ तहको परिणाम आएको ३ दिनपछि मात्र अर्जुनधाराको नतिजा घोषणा भयो । त्यो पनि एमालेका पक्षमा । त्यति लफडा गर्दा पनि जित निकाल्न नसकेपछि कुना पसेका सभापति थापा अहिलेसम्म बाहिर निस्किएका छैनन् । बुझिएअनुसार पार्टीभित्रका अन्तरघातीको पहिचान गर्नमै तल्लीन छन् । स्थानीय तहको निर्वाचनमा झापामा कांग्रेसले ५ तह मात्र जित्न सक्यो । कांग्रेसलाई यसपटक राप्रपाले पनि चिप्ल्याइदियो ।

टिप्पणीहरू