एमसीसी उपाध्यक्षलाई ओलीको अस्पष्ट जवाफ

एमसीसी उपाध्यक्षलाई ओलीको अस्पष्ट जवाफ

पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भेटवार्ता गर्नुभएको छ ।

फातिमासहितको एमसीसी टोली ओलीलाई भेट्न आज दिउँसो ओली निवास बालकोट पुगेको थियो । भेटघाटका क्रममा एमसीसी कार्यान्वयनको वातावरण बनाउनेबारे छलफल केन्द्रित रहेको बताइएको छ ।

बताइएअनुसार फातिमासंगको भेटमा ओलीले एमसीसी सम्बन्धमा सत्तारुढ दलहरुको पोजिसन क्लियर भएपछि मात्र आफूहरुले धारणा बनाउने जवाफ दिनुभएको छ । आफू प्रधानमन्त्री छँदा कुनैपनि हालतमा एमसीसी अनुमोदन गराउन चाहनुभएका ओली प्रतिपक्षमा पुगेपछि भने ‘पर्ख र हेर’ को रणनीतिमा हुनुहुन्छ ।

एमसीसी सम्झौतालाई लिएर नेपालमा चर्को विरोध भैरहेको छ । सम्झौता नेपालको राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै विभिन्न राजनीतिक दल,नागरिक समाज, बुध्दिजीवी लगायतले विरोध गरेपछि झण्डै डेढ वर्षदेखि एमसीसी संसदमा विचाराधीन छ । सम्झौता कार्यान्वयनका लागि संसदबाट अनुमोदन हुनैपर्छ ।

एमसीसी सम्झौतालाई लिएर जनस्तरबाटै असन्तुष्टि बाहिरिन थालेपछि फातिमाको टोली काठमाडौं आइपुगेको हो । आज बिहान काठमाडौँ झरेको फातिमासहितको टोलीले पहिलो भेटवार्ता ओलीसंग गरेको हो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू