भारतीय तिब्बती सीमा प्रहरीको क्याम्पमा सयौंलाई क्वारेन्टाइन

भारतीय तिब्बती सीमा प्रहरीको क्याम्पमा सयौंलाई क्वारेन्टाइन

अफगानिस्तानबाट उध्दार गरेर भारत ल्याइएपछि भारत तिब्बती सीमा प्रहरी (आईटीबीपी) को छावला क्याम्पमा राखिएका २४ जना भारतीय र ११ जना नेपाली नागरिक आ-आफ्नो घर गएका छन् ।

उनीहरु १४ दिनको क्वारेन्टाइन पूरा गरेर बाहिरिएको बताइएको छ । योसँगै संस्थागत क्वारेन्टाइनको लागि आईटीबीपीमा राखिएका कूल १ सय १३ जना व्यक्ति त्यहाँबाट हिँडेका हुन् ।

पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि सेप्टेम्बर ७ मा ५३ अफगान नागरिकसहित ७८ जना आईटीबीपीको क्वारेन्टाइन सेन्टरबाट बाहिरिएका थिए । सेन्टर राजधानी नयाँ दिल्ली नजिकै छ ।

उनीहरुलाई अगष्ट २ मा अफगानिस्तानबाट उद्धार गरी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै आईटीबीपी क्वारेन्टाइन केन्द्रमा पुर्याइएको थियो ।

त्यहाँ उनीहरुलाई खाना र बस्नको आवश्यक व्यवस्थापन मात्र गरिएको थिएन मनोरञ्जन, इण्डोर खेल,वाईफाई र क्यान्टिनको समेत सुविधा प्रदान गरिएको बताइन्छ ।

यसैगरी योग र तनाव परामर्श कक्षा पनि उक्त अवधिभर आईटीबीपीका तनाव सल्लाहकारबाट दिइएको थियो । आईटीबीपीलाई भारतको पहिलो १ हजार बेडसहितको क्वारेन्टाइन केन्द्र मानिएको छ ।

जसले बंगलादेश,चीन,म्यान्मार, माल्दिभ्स,अमेरिका,दक्षिण अफ्रिका,मादागास्कर र अफगानिस्तानका ४२ जना नागरिकसहित १ हजार २ सय भन्दा बढीलाई क्वारेन्टाइनमा राखेको थियो ।

उनीहरुलाई विश्वका विभिन्न ठाउँ विशेष गरी चीनको वुहान र इटालीको मिलानबाट जनवरीदेखि गत मेसम्म उध्दार गरिएको समाचारमा जनाइएको छ ।

टिप्पणीहरू