आज नेपाल र बंगलादेश भिड्दै

आज नेपाल र बंगलादेश भिड्दै

एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेलअन्तर्गत आज नेपालले पाहुना टोलीसँग पहिलो खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षकले नतिजा निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया दिएका छन् । दुई वटा मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आइपुगेको हो ।

नेपालले उज्बेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

छनोटअघिको अभ्यास खेल हेर्न दर्शकलाई पनि अनुमति दिइने भएको छ । एन्फाले आजको खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा हङकङ र फिलिपिन्स पनि छन् । एएफसी महिला एसियन कप उज्बेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै शुरुआत गर्ने तालिका रहेको छ ।

नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते हुनेछ भने दोस्रो हङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ । उक्त समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्न मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

टिप्पणीहरू