तीज अगावै महिलाको गहना चोरी

तीज अगावै महिलाको गहना चोरी

तीजमा लगाउन ठिक्क पारिएको झण्डै १५ लाखको गहना चोरी भएको छ । काठमाडौं महानगरपालिका ४ विशालनगर बस्ने ४७ वर्षीया बदुनी कुँवरको १४ लाख ९५ हजार रुपैयाँको गहना र नगद १ लाख चोरी गरेको आरोपमा एक जना महिला र एक जना पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर घर भएकी २३ वर्षीया इडेन लामा न्यौपाने र ललितपुर हात्तिवन बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २२ वर्षीय रितिक चौधरी हुन् ।

कुँवरको जाहेरीका आधारमा महानगरीय वृत्त मालिगाउँबाट खटिएको प्रहरीले खोजतलास गर्दा कुँवरकै घरमा काम गर्ने इडेनले नगद र गरगहना चोरी गरेको खुल्न आएको छ ।

अनुसन्धानको क्रममा इडेनले रितिक पनि घटनामा संलग्न रहेको बताएपछि ललितपुर सातदोबाटो चोकबाट चोरीका गरगहनासहित रितिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीमाथि जाइलाग्ने महिला हिरासतमा

काठमाडौं काँडाघारीको सनसिटी नजिकै ड्युटीमा खटिएको प्रहरीमाथि जाइलागेको आरोपमा एक जना महिला सहित पाँच जना पक्राउ परेका छन् । स्थानीय होटल सञ्चालिका ४२ वर्षीया रुपा थापामगरसहितले प्रहरीमाथि अभद्र व्यवहार गरेको बताइएको छ ।

थापामगरको होटलमा होहल्ला भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । हल्ला गर्नेलाई प्रहरीले सम्झाई बुझाई गरे पनि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले उल्दै प्रहरीमाथि हातपात गरेको प्रहरीको दाबी छ ।

घटनामा संलग्न तर फरार कास्की घर भएका २२ वर्षीय रविन थापा मगरको खोजी भइरहेको जनाइएको छ ।

टिप्पणीहरू