थर फेर्ने कानुन थपियोस्

  • अजय गोर्खाली

सञ्जुको पछाडि पौडेल, कंडेल, पोखरेल, केसी, सुवेदी, भण्डारी, रिमाल, रिजालजस्ता कथित बाहुन, क्षत्री वा श्रेष्ठ, प्रधान, गुरुङ, थापा आदि भए पनि उत्तमको परिवारले स्विकार्थे होलान् । परियार लेखिएकै कारण दमिनी–दलित भन्दै अवहेलित गरियो ।

सञ्जुजस्ता लाखौं युवायुवती, बालबालिका, वृद्धवृद्धा थरकै आधारमा अझै बहिष्कृत, तिरस्कृत भइरहेका छन् नेपालमा । भर्खरै जन्मेको बच्चाको के दोष कि उसले जन्मेदेखि नै दमाईं, कामी, सार्कीको नाममा दलित–अवहेलित हुनुपर्ने ? त्यसो नहुन देशमा जातीयताको अन्त्य हुन जरुरी छ । धर्मनिरपेक्ष भए जसरी नयाँ नेपालको लोकतन्त्रमा कथित थर फेर्न पाउने प्रावधान कानुनमै उल्लेख गर्न अत्यावश्यक छ । संशोधनका क्रममा नयाँ संविधानमा व्यक्तिको नामजस्तै पछाडि लेखिने शब्द आफ्नै इच्छाले राख्न पाउने व्यवस्था गरिनुपर्छ । बाबु, बाजेलाई जे लेखाइयो, थरको रूपमा छोराछोरी, नातिनातिनीले पनि नाममा त्यही जोड्नुपर्ने बाध्यता अब अन्त्य हुनैपर्छ । बाबुआमाको जे भए पनि बच्चाको जन्मदर्ता र नागरिकता बनाउँदा अगाडिको नामझैं पछाडिको थर जनिने शब्द स्वेच्छाले राख्न पाउने नीति निर्माण गरी कार्यान्वयन गरियोस् । फलानोकी पत्नी भन्ने चिनारी उल्लेख गरिए पनि महिलाले आफ्नो नामथर मनखुशीले राख्न पाउन् । पतिको थर जोड्नैपर्ने बाध्यता हटोस् । अहिलेसम्म यस्तो कानुन नबनेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । 

सञ्जु–उत्तम सम्बन्ध

सापकोटा भनिने परिवारका हुन् उत्तम । नवलपरासीको गैंडाकोट–९, थुम्सी घर । केटी तनहुँकी । शुरुमा फेसबुकमार्फत चिनजान भयो । त्यसपछि फोन सम्पर्क हुँदै पहिलोपटक बन्दीपुरमा भेट भयो । भेटघाट बढ्दै जाँदा शारीरिक सम्पर्क पनि भयो । भानु नगरपालिका–१ सालबिस्नेस्थित केटीको घरसम्मै पुग्न थाले केटा । घरमा श्रीमती हुँदाहुँदै सञ्जुसित लागेको रहेछ । सञ्जुलाई यो कुरा पहिल्यै थाहा भएन । उत्तमलाई तन, मन सुम्पिइसकेपछिमात्रै थाहा पाइन् उनले । २४ वर्षीय केटाले ‘घरकी श्रीमतीसित सम्बन्ध राम्रो नभएको’ भन्दै ‘तिमीसितै बिहे गरेर बस्छु’ भनेपछि केटी र केटीको परिवारले स्वीकारे । यसैबीच, केटालाई परिवारले विदेश पठाए । तर, एक महिना नबित्दै फर्किएर आई सञ्जुसितै रमाउन थाले । तनहुँमै कोठा भाडामा लिएर पतिपत्नीसरह बस्दै थिए । घरकी पत्नीको सञ्जुसँग फोनमा कुरासमेत भएको थियो । यस्तैमा, उत्तम हराएको भनी खोजी गरिदिन घरकी पत्नीको तर्फबाट उत्तमको परिवारले गत असारमा सामुदायिक सेवा केन्द्र गैंडाकोटमा निवेदन दर्ता गरायो । सामुदायिक सेवा केन्द्रका मान्छे तनहुँमै पुगेर केटाकेटीको खोजी गरे । वडाअध्यक्ष हुँदै केटीकी आमामार्फत् दुवैलाई झिकाइयो । गैंडाकोटमा ल्याएर उनीहरूलाई छुटाइएको छ । 

अघिल्लो सोमबार साँझ सामुदायिक सेवा केन्द्रमा आउनेबित्तिकै उत्तमकी आमा र घरकी जोईले दमिनी, काली भन्दै सञ्जुलाई झम्टिएको बताइन्छ । सामुदायिक सेवा केन्द्रका मान्छेले तनहुँमा सोध्दा र गैंडाकोट आएको केही बेरसम्म पनि ‘हो, मैले सञ्जुलाई बिहे गरेको, हामी सँगै बस्छौं’ भनिरहेका उत्तमले पछि चाहिँ केटी र केटीको परिवारले आफूलाई फसाउन खोजेको भन्न थाले । उत्तमलाई परिवारले एक्लै साइडमा लगेर कुरा गरेपछि ऊ फेरिएको बुझिन आएको छ । 

तनहुँबाट सञ्जु र आमा मात्रै आएका थिए । यता उत्तम परिवारको तर्फबाट दर्जनौं मानिस जम्मा भएका । जातीयताको कुरा गरी एउटी महिलालाई अलपत्र पार्न लागिएको थाहा पाएर स्थानीय केही अधिकारकर्मी सञ्जुको पक्षमा बोल्न गए । जातिवाद हाबी रहेको गैंडाकोटमा सापकोटा परिवार कुनै हालतमा सञ्जुलाई भिœयाउन तयार भएन । सोमबार बेलुकैदेखि केटाकेटी दुवैलाई इलाका प्रहरी कार्यालयमा राखेर दुई पक्षबीच छलफल भइरह्यो । केटा पक्षले एक–डेढलाख रूपैयाँ दिएर सञ्जुलाई धपाउने कोसिस गरिरह्यो । 

‘मैले कसरी उसलाई छोड्ने ? मेरो पनि जिन्दगी हो, दाग लागिसक्यो । कि मलाई घर लगेर राख्नुप¥यो, कि यहाँ बस भनेर व्यवस्था गरिदिनु प¥यो’ भन्दै थिइन् सञ्जु । जातीयताको कुरा गर्दा अप्ठ्यारो पर्छ भन्ने बुझेपछि १६ वर्षीया केटीको चरित्रमासमेत दोष देखाउँदै छिःछि, दूरदूर गरिरहे उत्तम परिवारले । जबकि, उत्तम यसअघि पनि घरकी पत्नीबाहेक अर्की एउटी केटीसितसमेत बिहे गरेर छुट्टिएको सुनिन्छ । महिला अधिकारकर्मीहरू खासै जुटेनन् । थोरै संख्यामा रहेका ‘कथित दलित’ अधिकारकर्मीहरूले सञ्जुलाई उत्तमकै पत्नीको रूपमा जिम्मा लगाउन सकेनन् । ८/१० लाख रूपैयाँ दिएर सञ्जुलाई गरिखाने व्यवस्था गरिदिनुपर्ने माग पनि दबियो । 

इलाका प्रहरी कार्यालयमा बुधबार बिहान केटी सोधपुछ कक्षमा थिइन्, भेट भइहाल्यो । ‘केटालाई हिरासतमा राखिएको, प्रहरीमा उजुरी दर्ता नभएको र सामुदायिक सेवा केन्द्रले हेरिरहेको केस भएकोले भेट्न दिन नमिल्ने’ भन्दै सई देवराज शर्माले पत्रकारलाई भेट्न दिएनन् । ‘उतै सामुदायिक सेवा केन्द्रतिर लगेपछि वा बाहिर निस्केपछि भेट्नू’, भने । अन्ततः बिहीबार बिहान प्रहरी कार्यालयबाट दुवैलाई निकाली केटा पक्षले केटीलाई एकलाख रूपैयाँ दिएर जबरजस्ती छुटाएको बुझिन आएको छ ।

सम्बन्ध छुटाउन सुधार केन्द्रको सहारा

केही महिनाअघि कथित तल्लो जातकी केटी ल्याएको कारण नवलपरासीकै एक युवक सुधार केन्द्रमा जाकिनुपरेको घटना पनि यहाँ उल्लेखनीय लाग्यो । नारायणी, मदनपुरका सागर महतोले सर्किनी भनिने केटीसित प्रेम बिहे गरेका थिए । बाबुआमाले घर भिœयाउन नदिएपछि चितवनको टाँडीमा गई मजदुरी गरेर नयाँ जीवनको सुरुवात् गर्दै थिए । यो अन्तरजातीय भनिने विवाह छुटाउन आमाबाबुले सागरलाई काठमाडौंको नवउपकार नेपाल नामक सुधार केन्द्रमा कोचिदिए । चुरोट, सुर्तीसमेत नखाने सागर सुधार केन्द्रको क्लाएन्ट भएर थुनिनुप¥यो ।

केही दिनअघि एउटी महिलालाई थरकै आधारमा ‘अछूत’ भनेर धारामा पानी छोएको निहुँमा आफूलाई उपल्लो जाति भन्ठान्ने आमाछोराले निर्घात कुटपिट गरेको खबर राष्ट्रिय दैनिकको मुखपृष्ठमै प्रकाशित भएको छ । अझ कति थर र जातको बिल्ला भिरेर अल्पसंख्यक जनसमुदायले दलितको रूपमा परिभाषित भई थिचोमिचो सहिरहनुपर्ने ? मानिसको निधारमा नै जात, थर लेखिएको भए पो ! प्रकृतिले त प्रस्टै देखिने गरी दुई जात बनाइदिएको छ, एउटा पुरुष, अर्की महिला । त्यसैले थरका आधारमा हुने जातीय विभेदको अन्त्य गर्न अब हरेकले आफ्नो थर फेर्न पाउने व्यवस्था गरिनु अपरिहार्य देखिन्छ ।

टिप्पणीहरू