​सूचना चुहिएर सनसनी

सप्तरीको मलेठमा मधेसी मोर्चाका पाँच जना कार्यकर्ताको ज्यान जानेगरी सुरक्षाकर्मीबाट भएको गोलीकाण्डको छानबिन गर्न गठित आयोगले पुलिसलाई धेरै दोष लगाउन नमिल्ने प्रतिवेदन दिएको छ । सर्वोच्चका पूर्वन्यायाधीश ताहिर अलि अन्सारी र डा. हरिहर वस्तीले दिएको प्रतिवेदनमा त्यो दिन पुलिसले गोली नचलाएको भएचाहिँ अकल्पनीय घटना घट्नसक्ने कुरा उल्लेख छ । 

घरेलु हतियार र लाठी बोकेको भीड एमाले नेता बसेको मञ्चमा पुगेर त्यहाँ रहेको पूरै नेतृत्वमाथि खनिन्थ्यो, जुन कुरा भयावह हुनसक्थ्यो भन्ने ठहरसहित आयोगले गोली हान्नु नाजायज नभए पनि छाती र टाउकोमा ताक्नुचाहिँ गलत भएको टिप्पणी गरेको छ । स्रोतका अनुसार उनीहरुले तयार गरेको सो प्रतिवेदनको जम्मा तीनवटा प्रति रहेमध्ये पत्रपत्रिकामा समाचार चुहिएको प्रति दर्ता भएको मूलकपी हो । तर रिपोर्टमा लेखिएको यो चुरो कुराचाहिँ बाहिर आएन । त्यो प्रतिवेदन कहाँबाट, कसरी लिक भएको हो भनेर राष्ट्रिय मानवअधिकार आयोगमा व्यापक अनुसन्धान भइरहेको छ । 

औपचारिक रुपमा दर्ता भएको प्रति लिक भएको कुरा प्रतिवेदनको पहिलो पृष्ठले पुष्टि गरेपछि यससम्बन्धी छानबिन अघि बढेको बताइन्छ । अहिले नै सो रिपोर्ट पूर्ण र अन्तिम भइसकेको छैन । प्रतिवेदन पेश गरेर सरकारको राय के छ भनी प्रतिक्रिया लिने, दोषी देखिएका अधिकारीलाई पनि त्यसबारे सोध्नेजस्ता काम भएपछि सबैतिरबाट अंग पु¥याएर बल्ल आयोगको फुल बडीसमक्ष पेश गरिने हो ।

यी सबै काम भएकै छैन । तर, चुहिएको सूचनाअनुसार एमालेले पनि संयमित हुनुपथ्र्यो । भिडन्तको सबै संभावना देख्दादेख्दै त्यही ठाउँमा कार्यक्रम गर्ने हठ राख्नु हुँदैनथ्यो भन्ने कुरा पनि त्यसमा लेखिएको छ । तर, पुलिसले चालेको कदमलाई प्रतिवेदनले अनावश्यकचाहिँ भन्न सकेको छैन । ताहिर अलि लामो समय सरकारी वकिल भएर न्यायाधीश बनेका हुन् । त्यसैले उनको प्रतिवेदन अति सुस्पष्ट भाषामा लेखिएको बताइन्छ ।

टिप्पणीहरू