हिजोको विधि पध्दति,आज नमिलेको सँगति

दुई महिना अगाडिसम्म एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विधि,पध्दति,प्रणाली र राजनीतिक इमान्दारिताको कुरा गर्नुहुन्थ्यो । नेकपा हुँदै एमाले विभाजन अघिसम्मका विभिन्न राजनीतिक घटनाक्रममा विधि, पध्दति र संविधान रक्षाको प्रश्नमा अध्यक्ष केपी ओलीसँग चर्को अन्तरसंघर्ष थियो ।

तर,अहिले समय फेरिएको छ । शाक्य बागमतीको मुख्यमन्त्री हुनुहुन्छ । उतिबेला उहाँले ओलीमाथि उठाउने गरेको विधि र पध्दतिको प्रश्न अहिले उहाँ स्वयंमाथि उठ्न थालेको छ । आफ्नो सत्ता जोगाउन शाक्यले ओलीकै शैली पछ्याएको आरोप समेत लाग्न थालेको छ ।सरकार प्रष्ट अल्पमतमा परेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेर शाक्यले सजिलै सरकार नछोड्ने सन्देश दिएपछि हिजोका बिधि पद्धतिका कुरा केवल ‘देखाउने दाँत रहेछ’ भन्ने पुष्टि भएको छ । स्पष्ट अल्पमतमा परिसकेपछि मार्गप्रशस्त गरेर संवैधानिक विकल्प खुला गरिदिनुपर्नेमा शाक्य ‘भ्यागुताको धार्नी’ पुर्याएर सरकार टिकाउने खेलमा लागेको विपक्षीहरुले आरोप लगाएका छन् ।

भदौ २ गते शाक्य नाटकीय ढंगले मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेबाट बिद्रोह गरी माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएकै दिन उहाँ मुख्यमन्त्री बनेपछि राजनीतिक वृत्तमा चासो र चर्चा चुलिएको थियो । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई साथ नदिने शर्तमा शाक्यलाई बागमतीको मुख्यमन्त्री बनाउन ओली राजी भएसँगै लामो अन्तरसंघर्षले सुखद् विश्राम पाएको बताइन्छ ।

यसअघि बागमतीमा एमालेको एकल बहुमतको सरकार थियो । तत्कालीन नेकपामा हुँदा नै शाक्य स्वयम सरकार गिराउने खेलमा लागेको भए पनि कानुनी अड्चनका कारण एमाले नेतृत्वको सरकार टिकेको थियो । तर,एमाले विभाजनसङ्गै प्रदेशसभाका १३ जना सांसदले नेकपा एकीकृत समाजवादीलाई साथ दिएपछि भने सरकार प्रष्ट अल्पमतमा परेको हो ।

१ सय ९ सदस्यीय बागमती प्रदेशसभामा एमालेका ५६ सांसद थिए । तर,१३ जनाले माधव नेपालको विद्रोहलाई साथ दिएपछि अष्टलक्ष्मी नेतृत्वको एमाले सरकार अल्पमतमा परेको हो । आफू अल्पमतमा परेको प्रष्ट चित्र देख्दादेख्दै शाक्यले भने हिजो मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । ६ मन्त्री र ४ राज्यमन्त्री थपेर १२ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

अल्पमतमा परेर पनि सरकार नछाडेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उछित्तो काढ्ने शाक्य आफैँ सरकार जोगाउन मरिमेटेर लागेपछि यसअघि बनेको उहाँको इमान्दार नेताको छवि रातारात धुलिसात भएको एमालेकै माननीयहरुबीच गाईंगुईं सुनिन थालेको छ ।

टिप्पणीहरू