घुम्दै फिर्दै फेरि पनि तिजको रहर आयो बरि लै

घुम्दै फिर्दै फेरि पनि तिजको रहर आयो बरि लै

-आशिका थापा

विशेषतः तीजलाई हिन्दू महिलाहरुको महान चाडको रुपमा लिइन्छ । हिन्दू धर्ममा तीज पर्वले निकै ठूलो महिमा बोकेको धर्मप्रति अगाध आस्था राख्नेहरु बताउँछन् । तीज विशेषगरी चार दिन मनाइन्छ । यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिनसम्म चल्छ ।

तीजको अघिल्लो दिन घर घरमा दर खाएर र परिवारसँग रमाइलो गरेर मनाइन्छ । दोस्रो दिनलाई हरितालिका तीज भनिन्छ । यो दिन महिलाहरु निराहार (पानी समेत नखाई) ब्रत बस्छन् । रातो साडी र रंगीबिरंगी चुरामा सजिएका महिलाहरु निकै आकर्षक देखिन्छन् । आज बिहानैदेखि जताततै महिलाहरु उक्त पहिरनमा सजिएर नजिकैको शिव मन्दिर जान थालेका छन् ।

तीजको तेस्रो दिन अर्थात पञ्चमी । ब्रतालु महिलाहरुले रातो माटो, दतिवनको प्रयोग गरी विशेष स्नान गर्छन् । पहिले पहिले सबैजसो महिलाले यो दिन नजिकैको खोला,नदी वा तलाउमा गएर नुहाउँथे । अहिले धेरैले घरको धारा प्रयोग गर्छन् ।

तीज पर्व देशैभर निकै उत्साहका साथ मनाइन्छ । विदेशमा रहेका हिन्दू महिलाले समेत उत्तिकै धुमधामसँग तीज मनाएको देखिन्छ । हरितालिका अर्थात तीज भगवान शिव र पार्वतीको स्मरण गर्दै मनाउने चलन छ ।

हजुरआमा र आमाहरुको पालामा तीज पर्वले छुट्टै मौलिकता बोकेको नाम नबताउने शर्तमा एक जना डक्टरले बताइन् । उनी भन्छिन्, ‘हिजो र आजको तीजमा आकाश पातालको अन्तर छ । हिजोको दिनमा भए मीठो खाएर, नभए जस्तो छ त्यसमै खुशी भएर तीज मनाइथ्यो । अहिलेको जस्तो भड्किलो तौरतरिकाले तीज मनाईंदैनथ्यो ।’

पूरानो चलनमा तीज मनाउन सात डाँडापारी बिहावारी गरेर गएका आफ्ना दिदी बहिनीलाई लिन दाजुभाइहरु जाने चलन थियो । छोरीचेली पनि माइतीघर जाने भनेपछि हुरुक्कै हुन्थे । त्यतिखेरका चेलीहरुले माइतीको महत्व धेरै बुझेको पुराना पुस्ताका महिलाहरुको विश्वास छ । बाबुआमा पनि तीजमा छोरी आउने भनेपछि जसोतसो गरेर भए पनि छोरीलाई मीठो मसिनो नै खुवाउँथे ।

अहिले तीजमा मात्र होइन,अरु चाडपर्वमा पनि त्यस्तो छैन । आधुनिकता भित्रिएसँगै चाडपर्वको पूरै रुपरंग फेरिएको छ । त्यसमा तीजसमेत परेको छ । नेपाली समाजमा तीज शुरु हुन हप्तौं बाँकी छँदै दर खुवाउने र खाने चलन शुरु हुन्छ ।

पछिल्ला दिनमा पार्टी प्यालेस, होटल तथा रेष्टुरेण्टमा गएर महँगो दर खाने प्रचलन बढ्दो छ । घरका परिकार बहिष्कृत हुन थालेका छन् । थरिथरिका पेय पदार्थ हातमा लिँदै र महँगो गहनामा सजिएर तडकभडकका साथ तीज पर्व मनाएको अवस्थामा मात्र तीज मान्ने चलन बन्दै गएको छ ।

पछिल्ला वर्षदेखि पुरुषहरु पनि विभिन्न गीतमा महिलासँगै गाउँदै र नाच्दै तीज मनाउने प्रचलन बढ्दो छ । गत वर्ष कोरोना महामारीको कारण निकै कम देखिएको तडकभडक यस पटक फेरि बढेको छ । बजारमा सुनिने तीजको नामका कतिपय उत्ताउला गीत संगीतहरु घर परिवारसँग सँगै बसेर सुन्न पनि नसकिने खालका छन् ।

तीज मात्रै होइन,सबै खालका पर्वलाई संस्कृति जोगाउने ढंगले मनाउनुपर्ने संस्कृतिविद्हरु बताउँछन् । उत्ताउलो र तडकभडकले पर्वको मर्म नासिन्छ भने,एकातिर धनको नाश अर्कोतिर पुर्पुरोमा हात हुने उनीहरुको निश्कर्ष छ ।

टिप्पणीहरू