पोखराबाट ओलीको र ओमानबाट बाउको मुख हेरियो

पोखराबाट ओलीको र ओमानबाट बाउको मुख हेरियो

मंगलबार कुशे औँशी अर्थात बुबाको मुख हेर्ने दिन । हिन्दू धर्मावलम्वीहरुले आफ्नो बुबाको मुख हेरेर तथा पितृहरुको सम्झना गर्दै मनाएका छन् । बुवाको मुख हेरेको उपलक्ष्यमा मंगलबार दुई रोचक तस्वीर सावर्जनिक भएका छन् ।

पहिलो तस्वीरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा दोस्रोमा मंगलबार भएको नेपाल र ओमानबीचको क्रिकेट खेलमा देखिएको दृश्य छ ।

बुवाको मुख हेर्ने दिनसँग यी दुई भाइरल तस्वीरको सम्बन्ध के ? भन्ने जिज्ञासा सबैलाई हुन सक्छ । पछिल्लो समय ‘बा’ को उपनामले चिनिँदै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धेरैले मुख हेरेका छन् ।

‘आई एम वीथ केपी शर्मा ओली’ तथा ‘ह्याप्पी फादर्स डे’ लेखिएको ब्यानर बोकेर राष्ट्रिय युवा संघ गण्डकी प्रदेश कमिटीले मंगलबार अध्यक्ष ओलीको मुख हेरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो ।
त्यस्तै,अर्को तस्वीरमा देखिएका व्यक्ति भने नेपाली होइनन् । उनी पपुवा न्यू गिनीका खेलाडी सेसे बाउ हुन् । बुबाको मुख हेर्ने दिन उनको फोटो पनि भाइरल हुनुको कारण भने उनको जर्सीमा लेखिएको नाम नै हो ।

जर्सीको नामलाई उल्लेख गरेर नेपाली खेलाडीहरुले ओमानमा भए पनि बाउको मुख हेरेको भन्दै सामाजिक सञ्जालमा बाउको फोटोलाई भाइरल बनाइएको छ ।

टिप्पणीहरू