एमालेमा को–को केन्द्रीय सदस्य थपिँदै

एमालेमा को–को केन्द्रीय सदस्य थपिँदै

विभाजनले निराशा जन्माउनु स्वाभाविकै हो । तर कहिलेकाहीँ डुब्न लागेको बेला त्यान्द्रो पनि सहारा हुन्छ । त्यान्द्रो त के नेकपा एमाले छोडेर ५५ भाइ केन्द्रीय सदस्यले नेकपा एकीकृत समाजवादी रोजेपछि रिक्त स्थान परिपूर्ति गर्दा त्यही त्यान्द्रोबाट सिंगो घर थाम्ने दलिनको उदय पनि हुन सक्छ ।

अन्तरपार्टी संघर्षको बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकमध्येका उपाध्यक्ष भीम रावल र महासचिवका उपविजेता सुरेन्द्र पाण्डेजस्ता धुरन्धरहरूले अहिले यस्तै भविष्यका प्रतिभाहरूको खोजी क्रम अन्तिम चरणमा पु¥याएका छन् ।

एमाले उच्च स्रोतका अनुसार सातै प्रदेश र ७७ जिल्लाबाट उज्ज्वल नक्षत्र खोजी कार्य अहिले रावल र पाण्डेको डायरीमा खामबन्दी भएको छ । अध्यक्ष ओलीले यसपटकको केन्द्रीय समिति विस्तारमा कुनै हस्तक्षेप नगर्ने बरु सक्षम नेता खोजेर ल्याउन भनेकाले ती दुई नेता उत्साहसाथ उम्मेदवार छनोटमा लागेको बताइएको छ ।

हाल केन्द्रीय सदस्यको नामावली डायरीमा रहे पनि भदौ २८ बाट शुरु हुने केन्द्रीय कमिटीको बैठकअगाडि सार्वजनिक नगर्ने तयारी छ । स्रोतका अनुसार अन्तरपार्टी संघर्षको बेला तत्कालीन वरिष्ठ नेता माधव नेपाललाई साथ दिएका तर विभाजनको विपक्षमा रही एमालेमै बसेका नौ भाइ नेता नजिकबाट ३० जनाभन्दा बढी केन्द्रीय सदस्य थपिने छन् ।

खाली ५५ पदमा संस्थापन पक्षबाट १५ देखि १८ जनालाई मनोनयन गर्ने तयारी भएको एक नेताले बताए । बाँकी ७ देखि १० जनासम्म माओवादीबाट विद्रोह गरेर एमालेमा समाहित भएकाहरूबाट पदपूर्ति गरिनेछ । जनआस्थालाई प्राप्त केन्द्रीय समितिमा मनोनीत हुने नेताको नामावलीमा सबैभन्दा धेरै नाम प्रदेश १ बाट आएका छन् । उक्त प्रदेशबाट १० जनासम्म थपिने छन् ।

यस्तै, प्रदेश २ का पाँच जनाको निधारमा एमाले केन्द्रीय सदस्यको टीका लाग्न सक्ने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि प्रति प्रदेश ५ देखि ७ जनासम्मले केन्द्रीय जिम्मेवारी पाउने देखिएको छ ।

रावल र पाण्डेको डायरीमा अटेका भन्दै स्रोतले जनआस्थालाई उपलब्ध गराएका नाममा तत्कालीन प्रजातान्त्रिक युवा संघका पूर्वअध्यक्ष र अखिलका पूर्वउपाध्यक्षको समेत नाम छ । स्रोतले दिएको लिष्टमा प्रदेश १ बाट शंकर पोखरेल र घनश्याम भुसालको सहकर्मीसमेत रहेका अखिलका पूर्वउपाध्यक्ष रोमणी भट्टराई, ऋषिकेश पोखरेल, दीपक कार्की, ओलीकालका चर्चित भौतिक योजनामन्त्री वसन्त नेम्वाङ, कृपासुर शेर्पा, माधव नेपालको जोडबलमा सांसद बनेर अहिले ओलीको साथ लागेकी पवित्रा निरौला खरेल, धनकुटाको स्थानीय र आमनिर्वाचन सतप्रतिशत परिणाम एमालेको पोल्टामा पार्ने अध्यक्ष राजेन्द्र राई, विमल कार्की, तुल्सी न्यौपाने, उमेश डाँगी, धरानका सतिसाल मानिने मनोज मेयाङबो, गणेश बराल, रेवती भण्डारी र ज्ञानेश्वर राजवंशीमध्येबाट केन्द्रमा लैजाने तयारी भइरहेको स्रोतले बताएको छ । मनोज मेयाङबोले केन्द्रमा जाने रुचि नगरेको र उनले मनोनयन अस्वीकार गरे सोलुका बुद्धिकुमार राजभण्डारीलाई तान्ने मुडमा रावल–पाण्डे छन् ।

प्रदेश २ मा भने यसअघि माओवादीबाट विद्रोह गरेर एमालेमा समाहित भएका ६ जना प्रदेश सभा सदस्यमध्ये ३ जनालाई राख्न नेता प्रभु साहले भनेबमोजिम गरिनेछ । यसमा ज्वाला साहको नाम नकाटिने पक्का छ । अन्यमा रामचन्द्र मण्डल, कुन्दन कुसवाह र मोहम्मद समीर रहन सक्ने बताइएको छ । ताल मिले बबन सिंह पनि केन्द्रीय सदस्य बन्न सक्छन् । यसैगरी, मदनसेन श्रीवास्तव, लगन चौधरी, किशोरी महतो र शारदा थापामध्ये दुई जना भनेर लिष्टमा रातो लगाइएको छ । प्रदेश २ मा रावल–पाण्डेको समूहले आफ्नो तर्फबाट केन्द्रमा तान्ने नेता भने छानिनसकेको बताइएको छ ।

बाग्मती प्रदेशबाट चर्चित वकिल टीकाराम भट्टराई, कोमल भट्टराई, केशव पाण्डे, डा. अजयक्रान्ति शाक्य, कृष्णभक्त पोखरेल, डोरमणि पौड्याल, दावा दोर्जी लामासहित केही वकिल थप्ने तयारीमा रावल–पाण्डे छन् ।

गण्डकीबाट युवा संघका पूर्वअध्यक्ष इन्द्रलाल सापकोटा र किशोर पहारीजस्ता युवा केन्द्रमा तानिने नेतामा परेका छन् । यस्तै, पुराना नेता दधिराम न्यौपाने र अधिवक्ता शान्ता खनालले पनि एमाले केन्द्रीय सदस्यको ताज पहिरिने सम्भावना छ । नेता रामबहादुर थापाको एकल सिफारिस बाग्लुङे कृष्ण केसी मात्रै छन् । मनोनयनको लिष्टमा सिन्धु जलेसा, रोशन गाहा, चन्द्रमोहन गौचन छन् ।

लुम्बिनीले पुराना नेता कमल श्रेष्ठदेखि टोपबहादुर रायमाझीको सिफारिसमा चन्द्र खड्का र मुक्ति पाण्डेजस्ता नेतालाई केन्द्रीय सदस्यको रूपमा पाउने पक्का छ । यस्तै, मैना भण्डारी, विष्णु पन्थी, बलराम अधिकारी, कृष्ण पौडेललगायतको शिरमा केन्द्रीय नेताको ताज पर्नेछ । लुम्बिनीमा प्रदेश सम्पर्क अध्यक्ष थानेश्वर बस्याललाई पनि केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।

कर्णालीले भने लक्ष्मी पोखरेल, रवीन्द्र शर्मा, दल रावल, ध्रुव शाही र कर्मसिंह नेपाली केन्द्रीय सदस्य बन्नेछन् । भीम रावलको गृह प्रदेशमा एमाले कमजोर बनिरहेको बेला लिष्टमा रहेका नाम तल–माथि पर्ने बताइएको छ । रावलको लोकप्रियता सुपमा घटिरहेको बेला डाक्टर दीपकप्रकाश भट्ट १ नम्बरमा सिफारिस भएका छन् । यस्तै, दयालबहादुर शाही, लेखराज भट्टको सिफारिसमा वीरबहादुर थापा केन्द्रीय सदस्य बन्नेछन् । सिफारिसमा परेकामा सहदेव बोगटी, नरबहादुर धामी र राजेन्द्र रावल पनि केन्द्रीय सदस्यको टीका लगाउने दिनको पर्खाइमा छन् ।

– पुष्पलाल पाण्डे

टिप्पणीहरू