अक्सफोर्ड कलेज

बेलायतमा सधैँ अक्सफोर्ड पढेका मानिसहरू प्रधानमन्त्री हुन्छन्, नेपालमा किन त्यस्तो हुन्न ? प्रधानमन्त्री शेरबहादुर देउवालाई अस्ति दिमाग खल्बलिने गरी सोधिएको प्रश्न यही थियो । बीबीसीको साझा सवालमा उहाँले जवाफ दिन मानिसहरू बोलाउनुभएको थियो । तर गाली दिएर फर्काउनुभयो । यो नै वास्तवमा त्यो प्रश्न हो, जसले उहाँको मथिंगल घुमाइदियो । वास्तवमा उहाँ पनि चाहनुहुन्थ्यो कि नेपालमा अक्सफोर्ड पढेका विद्यार्थीहरू प्रधानमन्त्री बनुन् । क्याम्ब्रिजमा पढेका विद्यार्थीहरू मन्त्री बनुन् ।

वा, क्योटो विश्वविद्यालयमा पढेका विद्यार्थीहरू नेता बनुन् । उहाँ मात्र होइन देशका सबै नेता यही चाहन्छन् । वास्तवमा त्यही भएर नै उहाँहरूले नेपालमै अक्सफोर्ड, क्याम्ब्रिज, लिंकन, क्योटो आदिआदि नाम गरेका प्लस टु कलेजहरू खोल्ने अनुमति दिनुभएको हो । त्यो अनुमति पाएर अक्सफोर्ड नामका कलेजहरू पनि धेरै खोलिए । क्याम्ब्रिज नामका कलेजहरू पनि अस्तित्वमा आए । लिंकन, निक्सन, ट्विन टावर, ह्वाइट हाउस, क्यामरुन आदि आदि नामका कलेजहरू पनि धेरै खोलिए । तर माओवादी विद्यार्थीहरूले यसको विरोध गरे ।

विदेशी नाम राखेर कलेज खोल्न पाइँदैन भनेर हडताल गरे । अब समस्या यहींनेर प¥यो । क्याम्ब्रिज, अक्सफोर्ड, लिंकन आदि आदि नाम राखिएका कलेजहरूको नाम धमाधम चेञ्ज हुन थाल्यो । वास्तवमा मुख्य समस्या त यो पो हो । अब नेपालमा अक्सफोर्ड, क्याम्ब्रिज नाम राखेर कलेज नै खोल्न दिइँदैन भने कसरी त्यहाँ पढेका विद्यार्थीहरू भेट्टाउनु ? यो त हलो अड्काएर गोरु पडकाए जस्तो पो भएन र ?

टिप्पणीहरू