​बोली र इशारा

सप्तरीमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पात मच्चाउनु भएछ । उहाँ बाढी पीडितको अवस्था अवलोकन गर्न जानुभएको थियो । तर लहान जिविसमा अनियमितता भएको भाषण पढिदिनु भएछ । उहाँको भाषण कसैले नबुझ्ने भएकोले त्यति ठूलो बबाल हुन पाएन । होइन भने ठूलै काण्ड हुनेवाला थियो । आफूलाई दिन ल्याइएको एउटा ज्ञापनपत्रलाई आफ्नै भाषण ठानेर वाचन गरिदिनुभएको थियो उहाँले । तर उहाँले भाषणमा के बोलेको हो कसैलाई थाहा भएन । किनभने उहाँले बोलेको धेरै कुरा धेरैलाई थाहै हुँदैन । के बोलेको हो बुझिने भए पो थाहा हुनु । बुझ्दै बुझिँदैन भने कसरी थाहा हुनु ? 

धन्न त्यहाँ एउटा सिडिओ फेला परेछन्, जसले प्रमले बोलेको बुझ्दारहेछन् । नेपालमा अझै यस्ता सक्षम सिडिओ पनि बाँकी रहेछन् जो प्रधानमन्त्री देउवाले बोलेको बुझ्न सक्छन् । उनैले गएर भाषणमा पढिरहेको कागज सच्याइदिए । ती सिडिओलाई अर्को वर्ष नेपाल तारा वा यस्तै कुनै विभुषणद्वारा सम्मानित गर्नैपर्छ । प्रधानमन्त्रीले बोलिरहेको सच्याइदिएकोमा होइन । प्रधानमन्त्रीको बोली बुझेकोमा । प्रधानमन्त्रीले बोलेको बुझ्न सक्नु पनि कम क्षमताको कुरा होइन । त्यसो त प्रशासनमा गएपछि प्रधानमन्त्रीको बोली नबुझे पनि केही छैन, इशारा बुझे पुग्छ । बोली नबुझे पनि इशाराचाहिँ बुझ्नुपर्छ । प्रधानमन्त्रीले धेरै कुरा बोलीमा होइन, इशारामा भनिरहनुहुन्छ । कहिलेकाहीं प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती आरजु देउवाको पनि इशारा आइरहेको हुन्छ । त्यस्तो इशारालाई बुझ्नु पर्छ । बोली भनेको त के हो र ? आज बोल्यो, भोलि सकियो । तर इशारा त्यस्तो हुँदैन । इशारा स्थायी हुन्छ । पाठकवृन्द ! यसो भनेर मैले कता इशारा गरेको हो त्यो त बुझ्नुभयो होला नि, हैन ?

टिप्पणीहरू