सरकार लगाऊ यता एक नजर « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

सरकार लगाऊ यता एक नजर

प्रकाशित मिति :  १ श्रावण २०७४, आईतवार १९:२४


  • यमुना अर्याल (काफ्ले)

बिहान साढे १० बजिसकेको थियो, कामले एउटा सरकारी कार्यालयमा छिरँे । सेवाग्राही लाइनबद्ध थिए, कर्मचारी आइसकेका थिएनन् । कतिपय कुर्सीमा कर्मचारीका झोला मात्र देखिन्थे, ११ बज्नै लाग्दा दुई जना कर्मचारी छिरे । छेउमा उभिएका गार्ड दाइले भने, ‘ठीक ११ बजे शेयर मार्केट खुल्छ । सधैँ त्यतै गएर मात्र आउँछन्, आज पनि त्यतै गए होलान् ! टाइममा आउने र ड्युटी गर्ने त गेटपाले र कार्यालय सहयोगीले मात्र हो ।’  सरकारको तलबभत्ता खाएर, अफिस आउने समय यही हो ? भन्ने बेलामा राष्ट्रसेवक रे ! काम गर्ने बेलामा आधा दिनसम्म अफिस आउनु छैन । चर्को घाममा कागजात समाएर उभिएका सेवाग्राही यस्तै छेड हान्दै थिए । 

कार्यालय समयभन्दा डेढ घण्टा ढिलो आएका कर्मचारी आफ्नै कुरामा तल्लीन देखिन्थे ।  सेवाग्राहीको लाइन बढ्दै थियो, भित्रबाट बन्द गरिएका झ्यालसम्म खोलिएका थिएनन् । कर्मचारीले सेवाग्राहीलाई एकरत्ति महत्व दिएनन् । उल्टै फोनमा गफिएर बसे, सायद खपिनसक्नु गर्मी भएछ, पंखाको चिसोमा शीतलता खोजे । बन्द कोठामा चिसो चाहने कर्मचारीलाई के थाहा ? जेठको चर्को घाममा दुई तीन घण्टादेखि पग्लिएर उभिएका सेवाग्राहीको पीडा । जतिबेला अफिस आउँदा पनि कसैले केही नभन्ने, जनताको काम नगर्दा पनि केही नहुने कति हाइसन्चोको जागिर हो ? 

खोइ यो कोठाका कर्मचारी ? आज आउँछन् कि आउँदैनन् ? लाइनमा उभिएका सेवाग्राहीले एकजना कर्मचारीलाई बिन्ती बिसाएर सोध्यो भने त्यति प्रश्नको जवाफ दिँदा पैसा नै तिर्नुपर्छ जस्तो व्यवहार गरे कर्मचारीले । ‘खोइ थाहा भएन, यतिबेरसम्म त लाइनमा बस्नुभयो, अब एकैछिन बस्नोस् न आउलान् नि ! योभन्दा अर्को जवाफ आएन । त्यही जवाफ शिष्ट, नरम शैलीमा दिँदा सेवाग्राहीले कामै नभए पनि आनन्द महसुस गर्छन् । 

अति नै भएपछि १० बजेदेखि लाइन बसेका एक सेवाग्राहीले कार्यालय प्रमुखबारे जानकारी राखे । ‘यो कार्यालयको हाकिम को हो ? उसैलाई भेटेर सबैजनाले एकै स्वरमा भनौँ कि यो कार्यालयका कर्मचारीलाई कारबाही गर, होइन भने यस्तो तातो घाममा दुई÷तीन घण्टासम्म उभ्याएर यातना दिनेबाट क्षतिपूर्ति भराऊ’ । सबैजना एकैस्वरमा कराए, सरकारी कर्मचारी भएकोमा आफंैलाई लज्जाबोध भयो । हल्लाखल्ला भएपछि भित्रबाट बल्ल झ्याल खुल्यो, ल को कसको के के काम हो ? अघि आउनुस् त, लहरै दुईवटा कुर्सीमा बसेका कर्मचारी तातिन थाले । घामले रन्केका सेवाग्राही पालो पर्खंदै अघि सर्दै थिए । एउटा काम त्यहाँबाट हुन्छ, अर्को कामका लागि यति नम्बर कोठामा जानुस् भन्छन्, फेरि त्यो कोठाबाट यो काम यहाँबाट हुँदैन अर्को कोठामा जानुस् । अलिअलि लेखाइपढाइ नभएको व्यक्ति त दिनभर कोठा चहार्दैमा लखतरान हुन्छ । पंक्तिकारभन्दा अघि चार÷पाँच जना उभिएका थिए, कर्मचारीले भने, ‘ए म्याडम, तपाईं आउनुस् त सरकारी कर्मचारी नै पर्नुभएछ धेरैबेर कुराइयो है…सायद  पोशाकबाट चिने होलान् । जानाजान पालो मिच्न उक्साए भित्रबाट । केही नबोली पालो कुरिरहँे । 

 तपाईं पनि यस्तै सरकारी कर्मचारी पो हो बहिनी ? तपाईको कार्यालयमा आउँदा पनि हामीलाई यस्तै कुराउनुहुन्छ ? लाइनमा बसेका पाका पुरुषहरू ममाथि खनिन थाले । निजी कार्यालयमा टोकन सिस्टम हुन्छ, उभिरहनुपर्दैन । पालो आएपछि उठेर जाँदा हुन्छ तर सरकारी कार्यालयको कामगराइ र सेवाग्राहीलाई उभ्याउने तरिका निकै फितलो छ । सेवाग्राहीले सरकारी कार्यालयमा घण्टौं उभिँदा पानी पिउनसमेत पाउँदैनन्, खानेपानीको प्रभावकारी व्यवस्था छैन, यति सामान्य काम त ठूलो बजेटको हिस्सा नछुटाईकन पनि गर्न सकिन्छ नि होइन र ? 
 हामी जनताको करबाट तलब–भत्ता पचाउन सक्नेले जनताका काम गर्न किन यति सकस भएको ? अझ यिनीहरूकै तलब बढाउनुपर्ने, भत्ता बढाउनुपर्ने, यिनीहरूकै छोराछोरीलाई सरकारले सित्तैमा पढाइदिनुपर्ने, यिनीहरूकै आफन्तलाई बिरामी पर्दा खर्च तिरिदिनुपर्ने, सरकारले सबै सुविधा दिएपछि जनताको काम पनि गर्नुपर्छ नि ! उजुरी गर्न पाउने भए जिन्दगीभर जागिर खान नपाउने गरी सजाय दिलाउन लगाउनुहुन्थ्यो यस्ता नाम मात्रका कर्मचारीलाई । अब एकैछिनमा खाजा खाने समय भयो भन्दै ढोका बन्द गरेर हिँड्छन्, बिहान कतिबेलादेखि लाइनमा सेवाग्राही बसेका छन्, केही मतलव हुँदैन.. सेवाग्राही एक तमासले कराइरहेका थिए । सेवाग्राही यति कराउँदा पनि भित्र बसेका कर्मचारीले एक वचन ढिलो भएकोमा गल्ती स्विकारेनन्, उल्टै झर्कोफर्को गरे । यति पनि मिलाएर ल्याउन सकिँदैन ? यो पनि हामीले मिलाइदिने त्यो पनि मिलाइदिने भएपछि अरू कामचाहिँ कहिले गर्ने नि ? ती कर्मचारीलाई आफू कर्मचारी मात्र होइन, सहजकर्ता पनि हुँ भन्ने भावना किन नआएको होला ? अचम्म लाग्यो । 

नागरिकताको प्रतिलिपि लिन पुगेका एक जना सेवाग्राहीले व्यक्तिगत अभिलेख हेटौंडाबाट काठमाडौंको सिडिओ कार्यालयमा फ्याक्समार्फत मगाउँदा पैसा तिरे । एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयमा सरकारी सम्पत्तिको उपयोग गरेर कार्यालय समयमा फ्याक्स पठाउँदा सेवाग्राहीमार्फत पैसा लिने कस्तो चलन हो ? म स्वयं नागरिकताको प्रतिलिपि निकाल्न पुगेकी थिएँ, गुल्मीदेखि प्रतिलिपि मगाउनुपर्ने थियो, तुरुन्तै फ्याक्स आयो, कर्मचारीले मेरो मुखतिर हेरे पैसा माग्ने आँट गरेनन् । हेटांैडाका सेवाग्राहीले नजिकै आएर भने, मसँग पैसा मागे, तपाईंसँग लिएनन् नि बैनी किन ? अवाक भएँ, फ्याक्स मेसिनको अघिल्तिर बसेका कर्मचारीलाई सोधँे, ‘एउटा सरकारी कार्यालयमा अर्को सरकारी कार्यालयले पठाएको फ्याक्सको पैसा व्यक्तिबाट लिन मिल्छ ? किन मसँग लिनुभएन ? मेरो कति रुपैयाँ भयो ?’ मेरो प्रश्नमा ती कर्मचारी केही बोलेनन्, हातको इशाराले नबोल्न भने र खल्तीबाट थपक्क ५० रुपैयाँ निकालेर हेटौंडाका सेवाग्राहीलाई फिर्ता दिए । यस्ता उदाहरण दिनमा कति घट्छन् होला ? सेवाग्राहीले सहजै उजुरी गर्ने ठाउँ हुने हो र उजुरीका आधारमा वृत्ति विकासमा प्रत्यक्ष असर पर्नेथियो भने बल्ल कर्मचारीतन्त्र सुध्रिने थियो । सबै कर्मचारी खराब नियतका छैनन्, एकाध खराब नियत भएकाहरूले सिंगो सरकारी कर्मचारीप्रति हेर्ने नजर नै धुमिल पारिदिएका छन् ।


प्रतिक्रिया दिनुहोस !