विमानस्थलमा माननीयद्वारा बबाल

विमानस्थलमा माननीयद्वारा बबाल

बेल्ट फुकालेपछि ‘सालेहरु…’ भन्दै सांसद सरासर भिआईपीतिर छिरे ! महिला प्रहरी तात्तिँदै थिए ! तर, पुरुष हाकिमले वास्तै गरिदिएनन् ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आन्तरिक टर्मिनलको प्रवेशद्वारमा अस्ति सोमबार बिहान पौने ११ बजेको घटना हो यो ।

कञ्चनपुर क्षेत्र नं. २ का एमाले सांसद नरबहादुर धामीले हो, आफ्नो बेल्ट खोल्न लगाएबापत महिला प्रहरीलाई ‘साले’ भन्दै गाली गरेको । संसदीय समितिको टोलीमा मिसिएर रामेश्वर राय यादव, विमल श्रीवास्तवहरुसहित श्री एयरलाइन्सको उडानबाट धनगढीका लागि प्रस्थान गर्न नरबहादुर त्यहाँ पुगेका थिए ।

काउण्टरबाट बोर्डिङ पास लिएपछि झोलाहरु एक्सरे मेसिनमा हाल्ने र यात्रुले साथमा भएका बेल्ट, पर्सहरु खोलेर राख्नुपर्ने नियमअनुसार प्रहरीले नरबहादुरलाई पनि त्यसो गर्न लगाए । शुरुमा उनी बेल्ट नखोली अगाडि बढ्दै थिए । तर, ड्युटीमा रहेकी महिला प्रहरीले नम्रताका साथ भनिन्, ‘सर, बेल्ट खोलेर आउनुस् !’ यसपछि आँखा बटार्दै नरबहादुरले बेल्ट त खोले, तर जाँच सकिएपछि ‘सालेहरु…’ भन्दै दुर्वाच्य निकाले ।

माननीयले नै यस्तो व्यहोरा देखाएपछि महिला प्रहरीले चेकिङ कमाण्डरका रुपमा रहेका सई कमल अधिकारीलाई सुनाए, ‘सर, यसले साले भन्यो !’ तर, सईले त्यो कुरामा त्यति ध्यान दिएनन् । ‘मान्यज्यूलाई बेल्ट पनि खोल्न लगाएको ?’ भन्दै उनले उल्टै प्रश्न गरेपछि महिला प्रहरीले थप प्रतिक्रिया दिइनन् ।

यात्रामा सहभागी अन्य माननीयहरुले जनआस्थालाई त्यस दिनको घटना विवरण यसरी सुनाए, धामीजी भित्र भीआईपी कक्षमा ढिलो गरी आउनुभयो । आँखा रातो थियो, तम्तम्याइलो अवस्थामा देखिनुहुन्थ्यो । उडान समय भएकोले सुरक्षाकर्मीसँग भएको झडपबारे विस्तृत विवरण हामीलाई बताउन भ्याउनुभएन ।

उनी तिनै सांसद हुन्, जसले केही समयअघि यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालको कार्यकक्षको ढोकामा लात्ती बजारेका थिए । अखिलको पोखरा महाधिवेशनबाट रामकुमारी झाँक्री अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्ष भएका धामी अहिले पनि एमालेमै छन् ।

०७४ को निर्वाचनमा राजनीतिमा आफूभन्दा निकै सिनियर कांग्रेस नेता एनपी साउदलाई पराजित गरेपछि उनको घमण्ड बढेको कञ्चनपुरका एमाले नेताहरु बताउँछन् ।

टिप्पणीहरू