सर्वोच्चले काँग्रेस–एमालेको अधिवेशन सार्ला ?

सर्वोच्चले काँग्रेस–एमालेको अधिवेशन सार्ला ?

राजनीतिलाई राजनीतिक नेतृत्वले व्यवस्थापन गरेन भने त्यो अरुकै हातमा पुग्नु स्वाभाविक हो । देशको राजनीति अदालतमा पुगेर थन्किएको बेला सत्तारुढ दल नेपाली कांग्रेसको राजनीति पनि त्यही अदालतमा गएर थन्किएको छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट रहेका प्रदेश सांसद नरोत्तम बैद्यले महाधिवेशन स्थगित गर्न मागसहित दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको बेञ्चमा विचाराधीन छ । सोमबार पेसी थियो, तर हेरिएन । कोभिड संक्रमणको व्यवस्थापन गरेरमात्रै महाधिवेशन, भेला, बैठकजस्ता कामहरु गर्नु भनेर सर्वोच्चले रोकिदिन पनि सक्छ । तर, नेतृत्वको लफडाले कांग्रेस निक्कै गर्माएको छ । कोरोना संक्रमणको कारण देखाएर काँग्रेसको महाधिवेशन सार्ने बाटो खोलियो भने त्यसले एमालेलाई पनि राहत पु¥याउँछ । स्थानीय चुनावका मुखमा यो कुराले कार्यकर्ता भाँडिन पाउँदैनन् ।

कांग्रेसस्रोतका अनुसार, अमेरिकी विद्युत सहायता परियोजना एमसिसी पारित गरी अमेरिकीमार्फत भारतीयलाई दबाब दिलाएर देउवा फेरि एकचोटि सभापति हुने चाहनामा हुनुहुन्छ । उहाँका लागि महाधिवेशन कति जोखिमपूर्ण छ भने, केही गरी हारियो भने संसदीय दलको नेता परिवर्तन हुन्छ, दलको नेता नरहेपछि प्रधानमन्त्रीबाट हट्नुपर्छ । त्यसैले प्रचण्ड र माधवसँग कुरा मिलाएर एमसिसी पारित गर्ने कि ओलीसँग मिलेर छिटो चुनावमा जाने ? यीमध्ये एक विकल्पमा जानुपर्ने अवस्था पनि आउन सक्छ ।

अहिले देउवाका निम्ति विमलेन्द्र निधी अलिक बढी समस्याका रुपमा देखिनुभएको छ । एमसिसी पारित गरेर अमेरिकीमार्फत भारतीयलाई दबाब दिन सकियो भने निधीलाई कावा सभापति बनाउने वा भावी प्रधानमन्त्रीमा उठाउने भन्ने लाइन छ । प्रकाशशरण महतमार्फत बोलाइएका भाजपा महासचिव विजय चौथाइवालेले पत्नी आरजु राणासँग रक्षा बन्धन बाँधेका छन् । उनलाई रात्रिभोज पनि दिइएको छ । यो घटनाले कांग्रेसभित्र अलग्गै तरंग पैदा गरेको बताइन्छ ।

अर्कोतिर, कोइराला खेमा मानिनेतिर मात्रै सभापतिका चार उम्मेदवार छन् । त्यहाँ रामचन्द्र पौडेल, शेखर कोइराला, सशांक कोइरालादेखि प्रकाशमान सिंहसम्म आकांक्षी देखिएका छन् । यीमध्ये कोही कसैले, कसैलाई स्वीकार गर्ने छाँटकाँट छैन । संसदीय दलको चुनावमा सशांकले आफूलाई भोट नहालेको रिस प्रकाशमानमा छ । रामचन्द्रको रणनीति हो, १३ औँ महाधिवेशनका प्रतिनिधिबाट विशेष महाधिवेशन गराउने । त्यो अल्पकालीन महाधिवेशन हुन्छ, एक वर्षका लागि । उनले आफू निकटस्थसँग भने पनि, ‘म तपाईंहरु सबै जनाभन्दा सिनियर पनि । एक वर्षको सभापतिका लागि मलाई निर्विरोध छोड्नुस् !’ यसो भन्दा अर्जुननरसिंह केसी बाहेकले साथ नदिएपछि बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको बैठकमा अल्पकालीन महाधिवेशनको कुरै उठ्न सकेन ।

तर, शेरबहादुरचाहिँ गरे नियमित महाधिवेशन, नगरे कुनै बहानामा सार्ने पक्षमा हुनुुहुन्छ । कांग्रेसस्रोतका अनुसार, अदालतमा नरोत्तमलाई मुद्दा हाल्न पठाइएको पनि यही योजनाअन्तर्गत हो । नरोत्तम पहिला शेरबहादुरका मान्छे, त्यसपछि मात्रै प्रकाशमानका हुन् ।

रामचन्द्रहरुले एकमात्र उम्मेदवार दिन्छौँ भनेर पत्रकार सम्मेलन गरे पनि त्यस्तो सम्भावना भने शून्य रहेको बताइन्छ । त्यस्तो घोषणा गर्नुको कारणचाहिँ तल्लो तहका अधिवेशन प्रभावित नहोस् भन्नका लागि थियो । उनीहरुले वडा अधिवेशनअघि एकल उम्मेदवारको सन्देश दिए । किनभने, चार जनाको छुट्टैछुट्टै उम्मेदवार हुँदा देउवाका मान्छेमात्रै आउने भए । अन्तिममा एउटै हुने हो भनेपछि देउवाविरोधी कांग्रेसजति एक ठाउँमा उभिन्छन् भन्ने मान्यताअनुरुप त्यसो गरियो । तर, क्षेत्रीय अधिवेशन सकिएपछि एकल उम्मेदवारको कुरा त्यसै भंग भएको कांग्रेस नेताहरुको भनाइ छ ।

त्यस्तै, कृष्ण सिटौलाले यसचोटि पनि सभापतिमा उम्मेदवार हुने भनेका छन् । पौडेलहरुले एउटै उम्मेदवार हुने घोषणा गर्दा उनी गएनन् । शुभचिन्तकहरुले ‘किन आउनुभएन ?’ भनी सोध्दा ‘खबर भएन, नबोलाई जान पनि भएन’ भन्ने जवाफ दिएका छन् । खासमा सिटौलाको बलियो बार्गेनिङ छ, देउवासँग । कुरा मिल्यो भने देउवासँगै जाने खतरा पनि विद्यमान रहेको कांग्रेसस्रोत बताउँछ । सिटौला समूहका गगन थापा रामचन्द्रको पत्रकार सम्मेलनमा गए । आफूलाई महामन्त्रीको उम्मेदवार पनि घोषणा गरे । त्यताबाट महामन्त्रीमा उठ्ने भनिएका प्रदीप पौडेल पनि पछाडि हटेका छैनन् । उनको दक्षिणतिरका मान्छेहरुसँग हिमचिम बढी छ । उनी आफैँ पनि शेरबहादुरकहाँ पुग्न सक्ने सम्भावना देखिँदैन ।

कोइराला–रामचन्द्र खेमा मिलेको र चारैजना उम्मेदवार भएको स्थितिमा गगनको रोजाईमा शेखर पर्छन् । विमलेन्द्र निधी त्यहाँबाट बाहिरिए र पश्चिमाहरुको जोडबल चल्यो भने प्रदीप पौडेल त्यता लाग्ने सम्भावना हुन्छ । विमलेन्द्रका निम्ति प्रदीप गिरी बिरामी अवस्थामै पनि दक्षिणका मान्छे मिलाउन खटिएका छन् । उनी नै हुन् विमलेन्द्रका मेरुदण्ड । मीन विश्वकर्मालाई दलितको प्रतिनिधित्व नहुने गरी निर्देशिका बन्यो भनेर राजीनामा गर्न लगाइयो । यो फण्डाले महाधिवेशनमा दलितको प्रतिनिधित्व गराउने निश्चितझैँ भएको छ । यसरी देउवाको तर्फबाट महामन्त्रीमा दलित र पूर्व भनेर मीन विश्वकर्मा अगाडि सारिए भने अचम्म मान्नु नपर्ने स्थिति छ । बागमती प्रदेशबाट प्रकाशशरण महत, सुदूरबाट एनपी साउद पनि महामन्त्रीकै दावेदार हुन् । मधेशबाट महामन्त्री उठाउने कोही भएनन् । विश्वप्रकाशलाई देउवाले अगाडि नबढाउँदा उनी रामचन्द्रतिर फर्किने सम्भावना छ । महामन्त्रीका लागि देउवाको अलिक बढी बल मीनेन्द्र रिजालमा रहेको बताइन्छ ।

सिटौलाका अर्का मान्छे बाराका सांसद उमाकान्त चौधरी हुन् । उनी अहिले मन्त्री हुन पाए सिटौलासँग हुने, नपाए जसले बनाउँछ, उतै जाने भनेर हिँडेका छन् । अब सिटौलासँग बाँकी छन्, काभ्रेका शिव हुमागाईं । तर, उनी पनि सिटौलाको शक्ति नापेर चल्न थालेको स्रोतले जनाएको छ । काठमाडौं– ६ का सांसद तथा पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान पनि सिटौला समूहका हुन् ।

तर, उनी प्रकाशमान विरोधी भएका कारण मात्रै सिटौलासँग जोडिएको बताइन्छ । त्यसैले भनिन्छ, अबको महाधिवेशनमा सिटौलाको टिम कतै न कतै विलय हुन्छ । अनि, नयाँ टिम देखिने भयो, विमलेन्द्र निधीको । त्यो टिम शेरबहादुरबाट बाहिर निकालिएको असन्तुष्टहरुको जमात हो । भनिन्छ, त्यस्तो हुनुका पछाडि युरोपियनहरुको दबाब थियो । संविधान जारी नगर भन्दाभन्दै सिटौला पनि संविधान जारी गर्नतिर लागे । ‘गणतन्त्र मेरो पनि कारणले आयो, राजालाई नागार्जुन पठाएको मैले हो’ भन्ने सिटौलालाई ०७४ को चुनावमा सबैले मिलेर देखाइदिएकै हुन् । झापामा पूर्वराजाकै प्रतिनिधि राजेन्द्र लिंङ्देनबाट उनलाई चुनाव हराइयो । अनि, दक्षिणले राजेन्द्र महतोलाई उभ्याएर धनुषामा निधीलाई हराएकै हो ।

टिप्पणीहरू