आजको सँसद अधिवेशनमा के के हुनेवाला छ ?

आजको सँसद अधिवेशनमा के के हुनेवाला छ ?

आजबाट संघीय संसदको नवौं अधिवेशन प्रारम्भ हुँदै छ । गत साउन ३२ मा संसदको आठौं अधिवेशन अन्त्य भएको थियो । राष्ट्पति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आज अपरान्ह दुबै सदनको बैठक आह्वान गर्नुभएको हो ।

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट (यही भदौ ३० गतेभित्र)संसदमा पेश भएको ६० दिनभित्र पास नभएको खण्डमा रध्द हुने हुँदा संसद बैठक आह्वान गरी प्रतिस्थापन विधेयक ल्याउनु पर्ने बाध्यता छ । प्रतिनिधि सभाको आजको कार्यसूचीमा १३ वटा अध्यादेश स्वीकृतिका लागि सदनमा पेश हुने भनिएको छ ।संसदको आजको कार्यसूची अनुसार,आज गृहमन्त्री बालकृष्ण खाँणले दल विभाजनसम्बन्धी अध्यादेश,नेपाल नागरिकता अध्यादेश (पहिलो संशोधन)नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन,सुपरिवेक्षण,समन्वय )अध्यादेश र सामाजिक सुरक्षा अध्यादेशसमेत पेश गर्नुहुने कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश ०७८,स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाका सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश ०७८ लगायत पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले यौन हिंसासम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गर्नुहुुनेछ ।

यस्तै अर्थमन्त्री जर्नादन शर्माद्वारा आर्थिक अध्यादेश,राष्ट्र ऋण उठाउने अध्यादेश,विनियोजन अध्यादेशलगायतको प्रक्रिया अघि बढाइने छ । ती अध्यादेशका विरुद्ध प्रेम सुवाल र दुर्गा पौडेलले अस्वीकारका लागि सूचना पेश गर्ने कार्यसूचीमा चढेको छ ।

बैठकले स्वीकृति दिएमा ती अध्यादेशको प्रतिस्थापन विधेयक ल्याइनुपर्ने हुन्छ । बैठकमा २०७० का संविधान सभा सदस्य जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पारित गरिने कार्यसूची छ ।

टिप्पणीहरू