धादिङमा वडाको नेतृत्वमा पुरुषको कब्जा

धादिङमा वडाको नेतृत्वमा पुरुषको कब्जा

कांग्रेसको १४औं अधिवेशनको वडा तहको निर्वाचनमा युवाको वर्चश्व देखिएको छ । तर, सबै वडामा पुरुषले मात्रै कब्जा जमाएका छन् ।

मंगलबार बिहानसम्म कांग्रेसले ९८ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ । त्यहाँका नेतृत्वमा महिला र दलित भने एक जना पनि छैनन् । त्यसमा पनि पहिलो खस आर्यकै दबदबा देखिएको छ भने त्यसपछि जनजाति नेतृत्वमा आएका छन् ।

नेतृत्वसम्म पुग्ने अवसरबाटै वञ्चित गराएर पार्टी विधानले तोकेको कोटामा बाहेक महिला, दलितलाई खुम्च्याइएको छ । विधानमा निर्धारित कोटाबाहेक अन्य पदमा कोही पनि देखिएका छैनन् ।

जिल्लाका १ सय ४ वडामध्ये नीलकण्ठ नगरपालिका–३ नं. वडा, त्रिपुरासुन्दरी गाउँपालिकाको २ र ३ नम्बर वडा र ज्वालामुखी गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाको नेतृत्व ढिलोगरी टुङ्गो लाग्दैछ । यी वडामा पनि महिला वा दलित आउने संभावना देखिँदैन ।

क्षेत्रीय प्रतिनिधिमा पनि कोटा निर्धारण गरिएको मात्रै सहभागी छन् । विधानले तोकेको कोटा नघटाइए पनि क्रियाशील महिला तथा दलित संख्या बढाइएको छैन ।

नेताहरू बसेर सहमति गराउँदा गराउँदै धेरै महिला र दलितले आकांक्षा राख्ने अवसरबाटसमेत वञ्चित हुनुपरेको हो । आकांक्षा राखेका महिला तथा दलितले सहमति गराउनुपर्ने बाध्यताले पुरुषलाई नै स्वीकार्न बाध्य हुनु पर्ने कांग्रेस नेत्री लक्ष्मी गिनीको भनाई छ ।

वडा सभापतिमा निर्वाचित भएकाहरूमा अधिकांश नयाँ अनुहार देखिएका छन् । यसअघि पार्टी राजनीतिमा खासै नदेखिएका तर विभिन्न भ्रातृ संगठनमा नेतृत्व गर्दै आएका नयाँ पुस्ता नै कार्यसमितिमा देखिएका छन् ।

केन्द्रमा समेत बूढा नेताहरूको पार्टी भनेर आरोप खेप्दै आएको नेपाली कांग्रेसको वडा तहको नेतृत्वमा युवाको हस्तक्षेप देखिएको छ । प्रतिनिधि चुनिएकाहरूमा पनि युवाको बाहुल्य देखिएको छ ।

पुराना पुस्ताका नेताबाट सिकेर नयाँ सोंचअनुसार राजनीतिलाई जनतासँग जोड्ने दौरानमा युवा देखिएको युवा नेता दिपक कोइराला बताउँछन् । भन्छन्,‘वषौंदेखि निष्ठावान बनेर हिँडेका पुराना नेताहरूलाई छोड्दा युवाले पालै नपाउने हुन्थ्यो, अब उहाँहरूको अनुभव र युवाको ऊर्जा मिलाउनुपर्छ ।’

केन्द्रमा देखिएको गुटको प्रभाव जिल्लामा पनि छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् । जिल्ला सदरमुकाम रहेको वडा नं. ३ मा दुबै पक्षले आफू बलियो भएको दावी गर्दै एकअर्काेलाई स्वीकार्न सकिरहेका छैनन् । यहाँ निर्वाचन हुने पक्कापक्की नै भएको छ ।

नेपाली कांग्रेस धादिङको वडा अधिवेशनबाट २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् । जिल्लामा १०४ वडा रहेका छन् । जिल्लाबाट ५० जना संघीय महाधिवेशन प्रतिनिधिहरू छनौट हुनेछन् ।

टिप्पणीहरू