एमालेमै रहन कित्ताकाट, मन्त्री परित्याग

एमालेमै रहन कित्ताकाट, मन्त्री परित्याग

नेकपा एमालेमै रहनका लागि सुदूरपश्चिमका दुई मन्त्रीले पदबाट राजीनामा गरेका छन् । आर्थिक मामिला मन्त्रालय सम्हालेका प्रकाशबहादुर शाह र उनैको मन्त्रालयकी राज्यमन्त्री रहेकी अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

शाह एमाले संसदीय दलका नेतासमेत हुन् । दुई मन्त्रीको एमालेमै रहने कदम र सभामुख अर्जुनबहादुर थापाले पनि सनाखत नगरेपछि सुपमा एमाले सशक्त पार्टी भएको एक नेताले बताए ।

यसैबीच सुदूरपश्चिम एमालेको किचलो भने झन् बढ्ने देखिएको छ । भीम रावल, लेखराज भट्ट र कर्ण थापाको तीन चुच्चे मुख बुच्चे शैलीले संगठन विस्तारका सबै काम रोकिएको सुपका एक प्रभावशाली नेताले जनआस्थालाई बताए ।

सुदूरपश्चिमको पार्टीलाई व्यवस्थित बनाउन गठित कार्यदलमा रहेका रावल, भट्ट र थापाको मुख नमिल्दा पार्टीका सबै गतिविधि रोकिएको छ । फागुन २३ पछि एमालेमा समाहित भएका भट्ट त्यसपछि एमाले सुपको इन्चार्ज भएका थिए तर असार १५ पछि एमाले जेठ २ कार्यान्वयनसँगै सुपको कमाण्ड रावलको हातमा गएको छ ।

त्यसकारण अहिले रावल र भट्टबीच जुँगाको लडाइँ छ भने थापाले रावल भट्टबीच विवाद चर्काएर आफूले पार्टी हाँक्ने सपना देख्दा सुपमा संगठन कमजोर हुने हो कि भन्ने चिन्ता स्थानीय एमालेमा छ ।

टिप्पणीहरू