धादिङमा दुई प्रमुखसहित ८५ जनाले रोजे नेकपा (एस)

धादिङमा दुई प्रमुखसहित ८५ जनाले रोजे नेकपा (एस)

धादिङमा नेकपा (एमाले) बाट निर्वाचित ८५ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरु जिल्ला निर्वाचन कार्यालय धादिङ्गबेशी पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले छाडेर नेकपा (एस) रोज्नेहरुमा धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगाना रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित ५५ जना वडा अध्यक्षमध्ये १४ जनाले पनि नेकपा (एस)मा सनाखत गरेका छन् । त्यस्तै कार्यपालिका सदस्य र वडा सदस्य गरी ६७ जनाले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस)मा हस्ताक्षर गरेका छन् ।
निर्वाचन आयोगले एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय दिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र पुरानो दलबाट नयाँ दलमा प्रवेश गर्नका लागि समय दिने व्यवस्था गरिएको र सोहीबमोजिम आयोगले नयाँ दल रोज्ने समय तोकेको हो ।

२०७४ को स्थानीय निर्वाचनमा धादिङमा नेकपा एमालेबाट ३ सय १६ जना विभिन्न पदमा निर्वाचित भएका थिए । धादिङको १३ वटा स्थानीय तहमध्ये ८ वटामा प्रमुख, ७ वटामा उपप्रमुख एमालेले जितेको थियो । वडा अध्यक्ष ५५ जना,महिला वडा सदस्य ५८ जना, सदस्य दलित महिला ५८ जना, अन्य वडा सदस्य १ सय १५ जना र दलित वा अल्पसंख्यक सदस्य १५ जना निर्वाचित भएका थिए ।

टिप्पणीहरू