शान्तपूर्वक शान्तहरूको संहार

सरकारले राष्ट्रिय बाणिज्य बैंकमा रिक्त चार सञ्चालकमध्ये त्यहीँका पूर्वनायव महाप्रबन्धक रवीन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । सञ्चार सहसचिव किशोरजंग कार्की र उत्तर खड्कालाई अर्थमा लगिएको छ । किशोरजंगलाई चूडामणि शर्मा थुनिएपछि आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउन लागिएको हो । भन्सारका महानिर्देशक रामशरण चिमोरिया स्वीट्जरल्याण्ड भ्रमणमा छन् । अर्थको बजेट महाशाखाका हाकिमहरू हालै कम्बोडिया र भियतनाम गएर फर्किए । अर्काे टोली श्रीलंकामा छ । राजश्व महाशाखाका भीष्म नेपालको टोली अष्ट्रेलिया पुगेको छ । अहिलेसम्म तामाङ समुदायबाट कोही पनि मुख्यसचिव बनेनन् भन्दै लामो समयसम्म अल्मल्याइएका धनबहादुरलाई हिस्स पार्दै अर्थसचिव शान्तराज सुवेदीलाई बित्त आयोग पठाउने हल्ला चलाइएको छ । 

संवैधानिक व्यवस्थाअनुसार बित्त आयोग बन्न लागेको हो । त्यसमा पूर्व उद्योग सचिव कृष्ण ज्ञवालीसहित सुवेदीलाई थन्क्याउने योजना छ । बित्त आयोगले संघीय संरचनामा अर्थ व्यवस्थापन र स्रोत परिचालन गर्छ । कांग्रेस मन्त्री गोपालमान र मुख्यसचेतक चिनकाजी श्रेष्ठदेखि माओवादी नेता नारायणकाजीसम्म शान्तबहादुर श्रेष्ठलाई मुख्यसचिव बनाउनै दौडमा थिए । शान्तबहादुर र शान्तराज गृहसचिव लोकदर्शन रेग्मीभन्दा सिनियर हुन् । धनबहादुर आफैँ पनि ‘म पनि हुन्छु र’ भन्दै अचम्ममा थिए ।

यदि शान्तबहादुर र शान्तराजहरु मुख्यसचिव भएनन् भने उनीहरु कात्तिकमा पाँच वर्षे पदावधि लागेर निबृत्त हुँदैछन् । यी दुई शान्तमध्ये कोही मुख्यसचिव भएको भए उमेरका कारण अर्को तीन वर्ष जागिरमा हुन्थे । सामान्य प्रशासन सचिव कृष्णमोहन सापकोटा गृहमा जाने तयारी छ । सोमलालले एडिबीमा जागिर खाने लोभ नदेखाएर अर्को डेढ वर्ष चलाइदिएको भए अहिले लोकसेवामा रहेका कानुन समूहका सचिव मधु रेग्मी मुख्यसचिव बन्ने थिए ।

टिप्पणीहरू