​लोकमान गएर के भो !

लोकमान गएर के भयो, उनका जायज/नाजायज कदम एकपछि अर्को गर्दै अनुमोदन हुन थालेपछि ! अन्ततः सम्धी रोहिणी थपलियाले हेलिकोप्टरकौ काम तमाम गरिभ्याए ।  प्रज्ज्वलसमशेर प्रधानसेनापति भएकै बेला राजा वीरेन्द्रलाई झुक्याएर अतिविशिष्ट व्यक्तिहरुको उडानका नाममा आरजे हण्ड्रेड नामक जहाज भिडाउन खोज्ने उनै रोहिणीले इटालियन अगुस्ता कम्पनीको हेलिकोप्टर नेपाली सेनाको स्वामित्वमा रहने गरी ल्याउने तारतम्य सम्धी लोकमान अख्तियार प्रमुख हुँदैमा मिलाएका थिए ।

२०१५ मा अमेरिकाले नेपाली सेनालाई दिने भनेको सानो जहाज अहिलेसम्म आएको छैन । त्यो जहाज पोल्याण्डमा बन्ने हो । जेठ १६ गते बाजुराको कोल्टी विमानस्थलमा पाइटल कर्णेल कैलाश गुरुङको ज्यान जाने गरी दुर्घटनामा परेको कल साइन एनए ०४८ कै जोडा हो त्यो । सेनाका अंग–प्रत्यंग भएर थुप्रिएका हेलिकोप्टरमध्ये एउटा छाउनीस्थित रेञ्जर गणमा राख्ने भएको छ । अर्को एउटा एभ्रो विमान लिलाममा गएको छ भने एउटा जहाज सैनिक संग्रहालयमा राख्ने तयारी छ । सेनालाई नयाँ हेलिकोप्टर किनाउन चुनावको मुखमा हेलिकोप्टर दलालहरु सल्बलाएका छन् । इण्डोनेसियन कम्पनीले पनि ५१ सीटे प्लेन नेपाललाई बेच्दैछ । बु्रनाई, पाकिस्तान, थाइल्याण्ड र बर्माले पनि त्यही जहाज चलाइरहेका छन् । प्याराजम्प गर्न मिल्ने त्यसमा नाइटभिजन सुविधा पनि हुन्छ ।

रोहिणीमार्फत खरिद हुँदै गरेको त्यही हेलिकोप्टरको मामिलामा भारतमा बितण्डा मच्चिसकेको छ । अगुस्ता वेस्टल्याण्ड हेलिकोप्टर खरिद प्रकरणमा भारतीय वायुसेनाध्यक्ष शशिन्द्र पाल त्यागीसहित उनका भाइ सञ्जिव (जुली) र वकिल गौतम खेतान गिरफ्तार भएका छन् । भिभिआइपी उडानका लागि करिब ३६ सय करोडमा १२ हेलिकोप्टर खरिद गर्दा चार सय २३ करोड कमिशन लिएको आरोप उनीहरुमाथि छ । अहिले रोहिणीले नेपाल भिœयाउन लागेको सोही कम्पनीको हेलिकोप्टर हो । त्यागीको भूमिका यतिमात्र थियो कि, उनले हेलिकोप्टरको पंखा ६ हजार मिटर क्षमताको सट्टा ४५ सयमा झार्न मञ्जुरी जनाएका थिए । तर, पाप धुरीबाट कराउँछ भनेझैं सन् २०१० को त्यो काण्ड ६ वर्षपछि बल्झिएर केन्द्रीय अनुसन्धान व्युरोको गिरफ्तारीपश्चात यतिबेला जेलको हावा खाँदैछन् ।

अहिले नेपालमा रोहिणीले स्वीकृत बजेटभन्दा दुई मिलियन बढी अर्थात् १६ मिलियन डलरको लागतमा हेलिकोप्टर ल्याउन खोजेको, स्पेसिफिकेशन पनि उनैलाई मात्र मिल्ने गरी जंगीअड्डाले तयार पारेको कुराको खुलासा गत मंसिरमै जनआस्थाले गरिसकेको छ । नेपाल एयरलाइन्सलाई ठूला जहाज आवश्यक परेको नाममा एयरबसले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी बुँदा मिलाइएझैं यस प्रकरणमा पनि अधिकतम तौल ६ हजारदेखि सात हजार केजी, क्षमता १४ यात्रु, पंखामा पाँचवटा ब्लेड र तीनवटा ल्याण्डिङ गियरको प्रावधान घुसाइएको थियो ।

टिप्पणीहरू