हल्ला गर्नेको कमी छैन हामीकहाँ

औपचारिक कार्यक्रम सकेर शीतलनिवास फर्कने क्रममा पानीपोखरीको उकालो जापानी दूतावासअगाडि पुग्दा राष्ट्रपति चढेको गाडीको डिकी आफैं भ्याट्ट खुल्यो । फागुन ७ को प्रजातन्त्र दिवसमा टुँडिखेल जाँदा राष्ट्रपति चढेको लिमोजिन कारले पिकअप नलिएर उनी त्यहाँ ११ मिनेट ढिलो पुगिन् । हिमालय होटलको एउटा कार्यक्रम सकेर गाडी चढ्न लाग्दा टायर पञ्चर थियो ।

त्यो बुलेटफ्रुफ कारलाई त्यत्तिकै थन्क्याएर अर्को प्रयोग गर्नुप¥यो । राष्ट्रपति चढ्ने मर्सिडिज कारको चालक बस्ने ठाउँमा रातो बत्ती बलिरहन्छ । यसको मतलब त्यहाँ केही खराबी छ । बाहिरको आवाज प्रष्टसँग भित्र सुनिन्छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा कतिसम्म लाजमर्दो भयो भने हामीले उनलाई चढ्ने कार दिन नसकेर उतैबाट गाडी ल्याउनुप¥यो । राष्ट्रपति प्रणव मुखर्जी आउँदा पनि त्यस्तै भयो । हाम्रो राष्ट्रपति चढ्ने गाडी उनलाई दिएर उपराष्ट्रपति चढ्ने गाडी सापटी मागी हिँड्नुप¥यो । तैपनि शीतल निवासले पत्र लेखेर गाडी सरकारसँग मागेको छैन । बरु सेनाले सम्माननीयज्यूको सवारीका लागि एम्बुलेन्स, अगुवा–पछुवालगायतको अभाव भएकाले गर्दा सुरक्षामा समेत समस्या परेको हुँदा थप बजेट माग गरेको चाहिँ राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्मा बताउँछन् । 

अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा छ, राष्ट्रपतिका लागि १६ करोड पर्ने महँगो गाडी खरिद गर्न लागिएको भन्ने विषय । उनको सवारी चलाउँदा अगुवा पछुवासहित हिँड्ने कारकेड र एम्बुलेन्ससहितको जुन सेट हुन्छ त्यो पूरा गर्न खोजिएको स्रोत बताउँछ । एम्बुलेन्स चालु हालतमा छैन । उनी स्वयं चढ्ने गाडी नै बिग्रिएको छ । पोहोर जनकपुर जाँदा प्रधानमन्त्री केपी ओलीले चढ्ने गरेको लिमोजिन माग्नुपरेको थियो । यस्तो अवस्थामा सेनाले जंगी अड्डा हुँदै रक्षालाई पत्र पठाएर नयाँ गाडी मागेको बताइन्छ ।

राष्ट्रपतिको सुरक्षाको जिम्मा प्रहरी र सशस्त्रको होइन । एकजना एकतारे जर्नेल नै शीतलनिवासमा तैनाथ छन् । यता, निर्वाचन आयोगले चुनावको बहानामा सचिवले नमान्दा नमान्दै पनि ७ करोडको गाडी किन्न बल गरेको कुरा हाम्रो आँखाअगाडि छ । राष्ट्रपति कार्यालको लागि गाडी किन्ने प्रस्ताव अहिलेसम्म अर्थ मन्त्रालय पुगेकै छैन । बजारमा अनेकथरी हल्ला छन्, यसको खण्डन प्रधानमन्त्री स्वयंबाट भइसकेको छ । पैसा दिने अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी भन्छन्, ‘यस्तो प्रस्ताव हामीकहाँ आएकै छैन । पैसा दिने हामीले हो, हामीलाई नै त्यसबारे थाहा छैन, बीचमा यस्तो हल्ला कहाँबाट चल्यो !’

टिप्पणीहरू