गुह्येश्वरीमा २ किलो सुनको हिसाब गायब,पशुपतिमा पनि गाईंगुईं

गुह्येश्वरीमा २ किलो सुनको हिसाब गायब,पशुपतिमा पनि गाईंगुईं

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष लाखबत्ती बाल्ने क्रममा पशुपति पुगेर सुनको जलारी हाल्न सरकारले ३० करोड रूपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो । अहिले त्यही जलारीको केस बल्झेको छ । एकातिर अदालतको आदेश र अर्कोतिर अख्तियारको छानबिनले १ सय ८ केजी सुनको जलारी तयार भए पनि अलपत्र बनेको हो ।

त्यतिबेला सरकारले फास्टट्र्याक विधिबाट उक्त रकम निकाशा गरेको र जलारी हाल्न पशुपति क्षेत्र विकास कोषले आफ्नो कोषबाट ५० करोड खर्चने निर्णय गरेको थियो । तर अपुग हुने भएपछि झण्डै १० करोड थपको लागि सरकारलाई अनुरोध गरेकोमा प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ओके भन्नुभयो ।

ज्याला र अन्य खर्च जोडेर जलारी निर्माणमा झण्डै १ अर्ब खर्चिएको बताइन्छ । झण्डै ६ महिनादेखि पशुपतिमा सुनको जलारी हाल्ने क्रम अवरुद्ध भएकाले सुन नै हराएको अपुष्ट खबरसमेत बाहिरिएको छ । तर कोषका अधिकारीहरु भने सुन हराएको भन्ने हल्ला मात्र भएको दाबी गर्छन् । परिवर्तित अवस्थामा केपी ओलीसँग सम्बन्धित मुद्दा उछाल्नको लागि सुन हराएको हल्ला गरिएको ती अधिकारीले बताए ।

उनले भने, ‘पशुपतिमा चाहिँ होइन,गुह्यश्वरीको सुन खिएर गएको पक्का हो ।’ गुह्यश्वरीको सुनको कुरो पूजारीसँग सम्बन्धित भएकाले छानबिन हुनसक्ने उनले अनुमान गरेका छन् । उनी भन्छन्, ‘पशुपतिमा त्यस्तो समस्या होइन ।’

गुह्यश्वरी मन्दिरभित्र अष्ट भैरवमा रहेको २ किलो सुन हराएको कुरो अहिले छ्याप्छ्याप्ती भएको छ । त्यहाँ पछिल्लो २० वर्षमा २ किलो सुन हराएको भनिएको छ । त्यहाँको गर्भ गृहमा राखिएको सुनमाथि अबिर,अक्षता,केशरी चढाउँदा सुन खिइएको मन्दिर पदाधिकारी र पूजारीहरुको दाबी छ । यसबारे महालेखा परीक्षकको कार्यालयले गत वर्ष नै आफ्नो प्रतिवेदनमा बेरुजु लेखेको थियो ।

अहिले त्यहि सुनको बेरुजुबारे विभिन्न समितिमा छलफल हुन लागेको हो । यता पशुपतिमा भने जलारीको काम त्यत्तिकै अलपत्र परेको छ । अदालतको आदेशपछि जलारी छाप्ने काम रोकिएको हो । निकै ठूलो र गह्रौं भएकाले शिवलिंग वरिपरि लगेर जोड्न नमिल्ने र बाहिर बनाएर लगेर भित्र किला ठोक्न पनि नमिल्ने अवस्थामा जलारी अड्याउने काम रोकिएको हो ।

यसबीच पशुपतिनाथको मन्दिर गत बैशाखदेखि नै बन्द छ । नित्यपूजा बाहेक अरु सबै पूजापाठ रोकिएको थियो । अब भदौ २७ गते आइतबारदेखि मन्दिर खुल्ने बताइएको छ । यसबीच सर्वसाधारण मन्दिरभित्र छिर्न नपाए पनि मूल भट्ट र भट्टहरुले भने नित्य पूजा गरिरहेको स्रोतले उल्लेख गरेको छ ।

टिप्पणीहरू