गाँजा विज्ञ पक्राउको बिरोधमा प्रदर्शन, काँग्रेस कार्यालयमा धर्ना जारी

गाँजा विज्ञ पक्राउको बिरोधमा प्रदर्शन, काँग्रेस कार्यालयमा धर्ना जारी

आज काठमाडौंमा गाँजा विज्ञ पक्राउ परेको बिरोधमा प्रदर्शन हुुने भएको छ । नेपाल गाँजा वैधानिक महाअभियानसँग आवद्ध गाँजा विज्ञ राजिव काफ्लेलाई प्रहरीले पक्रेकोमा समर्थकहरुले बिरोध गरेका हुन् । प्रदर्शन बिहान ९ बजे कोटेश्वरमा हुने जनाइएको छ ।

सोही समयमा नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा पनि बिरोध कार्यक्रम राखिएको छ । काँग्रेसको क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध रौतहट काँग्रेसले गर्दै आएको रिले अनसन तथा धर्ना आज पनि ९ बजेदेखि दिनभर हुने जनाइएको छ ।

नेपाल वायुसेवा निगममा आज पनि बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म कर्मचारी युनियनहरुले बिरोध कार्यक्रम राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले कार्यालय बाहिर धर्ना र प्रदर्शन गर्दै आएका छन् ।

एमसीसी खारेज राष्ट्रिय अभियान, माक्र्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसी उपाध्यक्ष फतिमा सुमारको टोलीलाई कालो झण्डा प्रदर्शन गर्ने भएका छन् । आज उनीहरुले बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिरोध प्रदर्शन गर्न लागेका हुन् ।

आजै नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) आरआर क्याम्पस कमिटीले बिहान ११ बजे क्याम्पस सम्मेलनको कार्यक्रम राखेको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायातको भाडादर समायोजन लगायतको ११ बुँदे माग राखि धर्ना कार्यक्रम राखेको छ । धर्ना यातायात व्यवस्था विभाग, मीनभवनमा बिहान ११ बजे हुने छ ।

नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आज एमसीसीविरुद्ध साढे १२ बजे संवाद डबली, अनामनगरमा अन्तरक्रिया कार्यक्रम राखेको छ । कार्यक्रममा सीपी गजुरेल, सीपी मैनाली, लिलामण्णि पोखरेल, डा. खगेन्द्र प्रसाई, डा. सुरेन्द्र केसी, डा. प्रेमसिंह बस्न्यात, नारायण शर्माको उपस्थिति हुने बताइएको छ ।

उता राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल खेलकुद महासंघले तीज कार्यक्रम गर्ने भएका छन् । कभर्ड हल, त्रिपुरेश्वरमा दिउँसो १ बजे कार्यक्रम राखिएको छ ।

नेकपा (विप्लव) को युवासंगठन नेपालको उपत्यका ब्युरोले सरकारले गरेको आर्थिक अनियमिता, बेरुजु र भष्टचारबिरुद्व आज दिउँसो २ बजे रत्नपार्कमा प्रदर्शन गर्ने भएका छन् ।

आजै नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ । संसदको ल्होत्से हलमा दिउँसो २ बजे बैठक बोलाइएको हो ।

एमसीसीको विरुद्धमा हाम्रो नेपाल हामी नेपाली अभियान, शाही युवा शक्ति नेपाल र राष्ट्रिय शक्ति नेपालले दिउँसो साढे ४ बजे बिरोध प्रदर्शन गर्ने भएका छन् । प्रदर्शन लगनखेल, ललितपुरमा हुने जनाइएको छ ।

सामाजिक अभियन्ता हेमराज थापालगायतले एमसीसी उपाध्यक्ष फतिमा सुमार र जोनाथन ब्रुक्स को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिरोध गर्ने जनाएको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाले पनि सोको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

नेपाल ल क्याम्पसको डिनको कार्यलयमा लगाइएको तालाबन्दी आज पनि जारी छ ।

टिप्पणीहरू