​साह्रै मिठो नुनको स्वाद

केही महिनाअघि नेपालले पहिलोपटक एशियन इन्टरपोल सम्मेलन आयोजना ग¥यो । त्यसनिम्ति सरकारले दिएको चार करोड खर्चमध्ये झण्डै दुई करोड जोगियो । बचेको पैसाले संघीयतामा प्रहरी संरचना अध्ययन गर्ने भन्दै उच्चपदस्थ कर्मचारी अमेरिका र क्यानाडा घुमे र पैसा सके । मिलेमतो पनि कस्तो भने विभूषण, पदक, तक्मा एक आपसले खटाई खटाई बाँडेर बर्सेनि लिने ।

यसरी आफूमाथि गरेको उपकार र गुणको ऋण मुख्यसचिव सोमलाल सुवेदीले आज एशियाली विकास बैंकको जागिर खान मनिलातर्फ उड्ने भएपछि अवकाश पाउने ठ्याक्कै एक दिनअगाडि धनबहादुर तामाङलाई दिने भनिएको कामु मुख्यसचिवको जिम्मेवारी उनी इञ्जिनियर पृष्ठभूमिको भन्दै राजेन्द्रकिशोर क्षेत्रीलाई दिएका छन् । क्षेत्री लोकमानसिंह कार्की अख्तियारबाट बाहिरिएसँगै सहकारीतिर सरेका सचिव हुन् । आउँदो कात्तिक ७ मा यिनले अवकाश पाएपछि मुख्यसचिव बन्नेछन् सोमलालका उनै हितैषी लोकदर्शन रेग्मी । यसरी जसरी पनि रेगमीलाई त्यो जिम्मेवारी दिने तारतम्यअनुरुप सोमलाल राजीनामा दिई बसेका हुन् । यदि, धनबहादुरलाई इञ्जिनियर भनेर रोक्ने हो भने कर्णध्वज अधिकारी पनि सिञ्चाईको डिजी, इञ्जिनियर नै हुन् । आखिर गृह, अर्थ हुँदै मुख्यसचिवसम्म भए ।

कोषराज वन्त पनि इञ्जिनियर नै थिए, सशस्त्रको आईजीपी बने । यो सब शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदीको बाटो छेक्ने उद्देश्यले भयो । उनीहरूको सचिवमा पाँचवर्षे कार्यकाल यही असोजमा समाप्त हुँदै छ । अर्कोलाई कामु दिएर उनीहरूलाई फालिदिएपछि लोकदर्शनको बाटो खुल्यो । गृहसचिव लोकदर्शन र सोमलालको यही योजना कार्यान्वयन गर्न मनिलाबाट ‘कन्फर्म लेटर’ आएको तीन महिनासम्म पनि लाज पचाएर बसेको स्रोतको दाबी छ । यसरी आफ्नो भ्रमण र तक्माको व्यवस्था मिलाइदिनेलाई सो बापत उपकार गर्न यति तुच्छ र तल्लोस्तरको काम मुलुककै कर्मचारी प्रमुखले गर्छन् भने देशको भविष्यबारे कसले चिन्ता लिने होला ? अब मुख्य मान्छे नै यति विघ्न ‘भ्रष्ट’ मानसिकताबाट ग्रसित भएको प्रमाणित भइसकेपछि तलका मुखिया, खरिदार र सुब्बाले घुस खाए भनेर किन अचम्म मान्नु ? के भन्दै तिनीमाथि कारबाही गर्नु ? 

टिप्पणीहरू