हामी जयसिंह धामीहरू

हामी जयसिंह धामीहरू

युद्ध पाण्डवले जितुन् कि कौरवले
केही फरक पर्दैन जनतालाई
उनीहरू त द्रौपदी हुन्
पाण्डवले जिते जुवाको खालमा थापिन्छन्

कौरवहरूले जिते हरण हुन्छ उनीहरूको चीर
राजा राम बनुन् कि रावण
केही फरक पर्दैन जनतालाई
किनकि उनीहरू त सीता हुन्
राजा राम बनेमा उनीहरूको अग्नि दहन हुन्छ

रावण राजा बने उनीहरूको अपहरण
विजयी हिन्दू बनुन् या मुसलमान
केही फरक पर्दैन जनतालाई
किनकि उनीहरू त शव मात्र हुन्
हिन्दूले जिते चितामा जलाइन्छन्

मुसलमानले जिते दफनाइन्छन् कब्रिस्तानमा ।

एक भारतीय कविको कविता हो यो । साहित्य त्यही जीवन्त हुन्छ जुन जीवनसँग मेल खान्छ । सायद यो कविता हामी नेपालीको नियति र भोगाइकै लागि लेखिएको हुनुपर्छ । यहाँ कुनै कविताको समालोचनाको प्लट उठान गर्ने उद्देश्य पक्कै राखिएको छैन । खाली भर्खरै भारतीय सीमा सुरक्षा बलले तुइन काटेर महाकालीको भेलमा बेपत्ता जयसिंह र नियतिले त्यहाँसम्म नपु¥याएका हामी जिउँदा जय सिंहहरूको जीवनसँग मेल खाएकाले मात्रै उधृत गरिएको हो ।
एकातिर असफलतै असफलताको ओच्छ्यानमा मस्त निदाइरहेको हाम्रो व्यवस्था र अर्कोतिर दिनदिनै दीनहीन बन्दै गएको हाम्रो अवस्था, सायद यसैलाई प्रतिविम्बित गर्न यो कविता लेखिएको हुनुपर्छ । कवितामा ‘उनीहरू’ हामी मरेका र जिउँदा जयसिंहहरू हाैँ । कोही एसएसबीको सिकार भएर महाकालीमा बेपत्ता छाँै र कोही उनीहरूको निगाहले अहिलेसम्म बाँचिरहेका छाैँ।

गरिबीको जर्जरतामा उनिएका हामी कैयाैँ जयसिंहहरू समाचार बनिरहेका छैनाैँ । हिजो पनि मारिन्थ्याैँ हामी, आज पनि तुइन चुँडाएरै भए पनि मारिएकै छाैँ र भोलि पनि हाम्रो बलि चढाइने पक्का छ । चिसो चुलोमा कसौँडी तताउन जीवनका कैयौँ तुइन चढ्नै पर्ने विवशता छ हामीसँग । हिजो बर्मा, असाम र नागाल्याण्डमा जीवनका तुइन तर्दा तर्दै जयमायाहरू एक्लै लिखापानी पुगे । त्यहीँ हराए जयबहादुरहरू । अहिले आफ्नै सदरमुकाम पुग्न पराइभूमि टेक्नुपर्ने विवशतामा एसएसबिको सिकार भए जयसिंह । जीवन खोज्न चढिएका तुइनहरू मृत्युका भ्वाङ भए ।

हामी लाचार सत्ताका जयसिंहहरू दश लाखमा लिलाम गरिन विवश छाैँ । उता, औँला उठाए सत्ता भोगमा भ्वाङ पर्ने डरले थुर थुर सरकार हामीलाई दशैको भेंडाझाैँ मूल्य गरेर तुइन चढाइरहेको छ । तुइनबाट फालिएका जयसिंह खोज्न महाकालीमा मोटर बोट र गोताखोर होइन सरकार समिति बनाएर जनतालाई मूर्ख बनाउँछ । अनि बेपत्ता जयसिंह सधैँ महाकलीको गर्तमा हराइरहन अभिषप्त हुनेछन् भने जिउँदाहरू कात्रोमा बेरिएर अर्को जयसिंहको पर्खाइ पर्खिन बाध्य छौँ ।

हामीले धेरै ठूला परिवर्तन ग¥याैँ । तर, प्रत्येक परिवर्तनपछि केही सय वा हजार मान्छेको मात्रै अवस्था परिवर्तन भयो । अरु कोही ज्यूँका त्यूँ वा त्योभन्दा पनि तल झरे र हरेक पटक जयसिंह बन्न बाध्य भए । जनताका तहसम्म हाम्रो परिवर्तन पुग्दै पुगेन । व्यवस्था परिवर्तनको स्वाद त्यतिबेला तिख्खर र चोपिलो हुन्थ्यो जतिबेला भुइँमान्छेको अवस्था परिवर्तन भएको होस् । तर, त्यसको आभाष जताततै मलीन मात्रै देखिन्छ । नीति त परिवर्तन भयो, नियति उस्तै रह्यो । शासन, व्यवस्था र पात्र फेरिए तर प्रवृत्ति उस्तै रह्यो ।

र, हामी जयसिंहहरू राणाकालमा तुहिनबाटै खोलामा फालियाैँ । पञ्चायतमा पनि उसै गरी पछारियौँ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो नियति फेरिएन । र, अहिले फेरि महाकालीमा हराएका छाैँ ।

प्रजातन्त्र , गणतन्त्र र समाजवादका गीत गाउँदैमा जयसिंहको नियति त बदलिँदै नबदलिने पक्का छ । यी यस्ता शब्दावली हुन् जसको अर्थको गुण कार्यान्वयनमा मात्रै मनमोहक हुन्छ । हामी जयसिंह र जयसिंहहरूको नियति शुरुमा उधृत गरिएका कविका विम्बात्मक पात्र सीता वा द्रौपदीको शवको जस्तै नहोस् । पहिला बेपत्ता जयसिंहले न्याय पाउन् अनि हामी जिउँदा जयसिंहले न्याय पाइयोस् ।

टिप्पणीहरू