नेकपा एमाले केन्द्रीय सदस्यको हिट लिस्टमा को को ?

नेकपा एमाले केन्द्रीय सदस्यको हिट लिस्टमा को को ?

नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपालसहितका ५५ जना केन्द्रीय सदस्य एकीकृत समाजवादीतिर लागेपछि रिक्त स्थानमा केही जुझारु र नयाँ नेतृत्व पदस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

एमाले उपाध्यक्ष भीम रावल र नवौं महाधिवेशनबाट महासचिवमा एकदम थोरै मतले पराजित सुरेन्द्र पाण्डेसहितका नेताहरुले नेतृत्वमा लैजाने नयाँ नेताको खोजी गर्नुभएको र उक्त कार्य अन्तिम चरणमा पुगेको बताइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त पात्र खोज्न स्पष्ट निर्देशन दिएपछि रावल र पाण्डे अहिले केन्द्रीय सदस्य छनौटमा दत्तचित्त भएर लाग्नुभएको संस्थापन पक्षको बुझाई छ । आसन्न विधान महाधिवेशनअगावै रिक्त स्थान पूर्ति गर्नेगरी रावल र पाण्डेले निरन्तर काम गरिरहनुभएको एमाले नेताहरुले बताएका छन् ।

संसदको सबैभन्दा ठूलो दल एमालेले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन तय गरेको छ । प्रायः सबै नाम रावल र पाण्डेको डायरीमा टिपिसकिएको र तिनलाई पार्टीभित्रका समूहको आधारमा वर्गीकरण गर्ने काम भइरहेको नेताहरुले बताउने गरेका छन् ।

नयाँ नियुक्त हुने केन्द्रीय सदस्यहरुको नाममध्ये हिट लिष्टमा चर्चित कानुन व्यवसायी टीकाराम भट्टराईको नाम समेत रहेको स्रोतले बताएको छ । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष भट्टराई एमाले अध्यक्ष ओलीका आलोचकको रुपमा परिचित हुनुहुन्छ । आफ्ना आलोचक भए पनि ओलीले टीकारामजस्ता फिगरलाई पार्टीमा समेट्नुपर्ने बताउनुभएको स्रोतको दाबी छ ।

यसवारे जिज्ञासा राख्दा भट्टराईले शुभेच्छा राख्नेहरुलाई धन्यवाद दिँदै आफूसङ्ग यसवारे कसैको पनि कुराकानी नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-“यत्तिको मान्छेलाई नेता बनाउँदा पार्टी बलियो होला भन्ने नेताहरुलाई लागेको हुनसक्छ तर यस विषयमा बोल्ने बेला भएको छैन ।”

एमालेको नयाँ नेतृत्वमा थपिने ५५ जना नेतामा ३० जना १० बुँदेसहित एमालेमा समाहित ९ भाइ नजिकका,२० जना अध्यक्ष ओली नजिकका, ५ जना माओवादीबाट एमालेमा समाहित २३ भाइ नजिकका रहनेगरी समीकरण तयार परिएको बुझिएको छ ।

रावल र पाण्डेसहितको समूहले केन्द्रीय सदस्य चयन गर्दा यसअघि केन्द्रीय सदस्य नरहेका संघीय सांसद,प्रदेशसभा सदस्यहरु, जिल्लाका अध्यक्ष,पूर्वअध्यक्ष र सचिव तथा भातृ संगठनका पूर्व र वर्तमान पदाधिकारीहरुबाट क्षमता र सक्रियताको आधारमा छनौट गर्ने मापदण्ड तयार पारेको बताइएको छ ।

टिप्पणीहरू